बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् । जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।
हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो । बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो । जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् । विद्यालयमा बसिरहेका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिन्छन् । “घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो”, उनले भने,“छ दिन भयो विद्यालयमा बसेको । यसरी बसेर कति दिन टर्छ । घर बचेकाहरु घर सफा गर्न थालेका छन् । स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान, हामी कहाँ जाउला ?”
चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उनी पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा छिन् । “आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन”, सुस्मिताले भनिन्, “दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ । गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ?”
बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् । ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् । यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् । जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् ।
टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् । पालिका र संघसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् । टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पु¥याएको छ । वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताए । “हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ”, उनले भने, “बाढीले ठूलो क्षति पु¥याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ ।”
संघसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन् । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्यांक संकलन र क्षतिको विवरण संकलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताए । “सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ”, उनले भने, “हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।” रासस/दुर्गा देवकोटा
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया