सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरुले २०७७ साल असार २४ गते राति आएको बाढी र पहिराले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरे । त्यसपछि हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल–चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गरे ।
अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोसी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयवासीको उपस्थिति थियो ।
अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही वर्षयताको लगातारका बाढीपहिराका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयातनिर्यातबारे जानकारी लिए । अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्माले तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागिता जनाए ।
छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायतका विकास कार्यलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उहाँले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।
भूकम्प, बाढी र पहिरोजस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडकखण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थमन्त्री शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । उनले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।
भन्सार विभागका महानिर्देशकसहितको छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो ।

















चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
महिलाको दाबेदारः सुनसरीमा २० उम्मेदवार
जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कराते टोली रुस जाने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
प्रतिक्रिया