शनिबार, पुष १९, २०८२

एक सय ८० किलो गाँजा तस्करीमा शिक्षकसमेत पक्राउ

मेरोन्यूज २०७८ मंसिर ३ गते ६:२८

काठमाडौँ । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको गाँजा प्रहरीले देवानगञ्जबाट बरामद गरेको हो ।

पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको जाँच गरेको थियो । सो क्रममा ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले गाँजासहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ । मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए ।

उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान केन्द्रीत गरिएको बताए ।

प्रतिक्रिया