‘राष्ट्रिय हित हेरेर गरिएको निर्णयमा भ्रम छर्ने प्रयास’

काठमाडौँ । राष्ट्रिय हित हेरेर दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरेको भन्दै बीमा समितिले आपत्ति जनाएको छ । समितिले सम्भव भएसम्म देशभित्रै पुनरबीमा गर्न र सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान निर्देशन दिएको छ ।
नेपाल पुनरबीमा कम्पनी सञ्चालनमा रहेको र हिमालयन री इन्सुरेन्स कम्पनी सञ्चालनको तयारीमा छ । पुनरबीमामा एकाधिकार अन्त्य भएको तथा देशभित्रै दुई कम्पनी सञ्चालनमा रहेकाले सकेसम्म देशभित्रै पुनरबीमा गर्न दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरिएकामा समितिले दुःखेसो जनाएको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवद्र्धनलाई समेत ध्यानमा राखेर निर्णय गरिएको हो ।
समितिको निर्देशनलाई एकतर्फी रुपमा मनगढन्ते तरिकाले व्याख्या गरी जनमानस र सिङ्गो बीमा क्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा सार्वजनिक नगर्न तथा नगराउनसमेत आग्रह गरिएको छ । मुलुकमा हाल वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनरबीमाबापत ठूलो रकम विदेशिने गरेकाले त्यसमा सकारात्मक योगदान पु¥याउनुपर्ने भएकाले देशभित्रै पुनरबीमा गर्ने व्यवस्था लागू गर्न जोड दिइएको समितिले जनाएको छ ।
बीमकले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हाल व्यवस्था कायमै राखिएको छ । स्वदेशी पुनरबीमकलाई विशेष प्राथमिकता प्रदान गर्ने व्यवस्थालाई समेत ख्याल गरेर आवश्यक निर्णय गरिएको उल्लेख गर्दै समितिले पुनरबीमा निर्देशिका, २०७८ मा भएको व्यवस्थाअनुसार नै आवश्यक निर्णय भएको स्पष्ट पारेको छ ।
स्वदेशी पुनरबीमा कम्पनीलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनरबीमा व्यवसाय पनि जबर्जस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट देखिएको भन्ने प्रचारसमेत गलत रहेको र जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ । बीमा एवम् पुनरबीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ गरिएको प्रचारको कुनै अर्थ नरहेको समितिले स्पष्ट पारेको छ ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया