आइतबार, वैशाख ६, २०८३

कांग्रेस प्रदेश अधिवेशनः लुम्बिनीमा १ हजार ६३१ मत खस्यो

मेरोन्यूज २०७८ मंसिर १८ गते १९:३४

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको शनिवार भएको निर्वाचनमा १ हजार ६ सय ३१ मत खसेको छ । १ हजार ६ सय ४८ जना प्रतिनिधि रहेकोमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिवार प्रदेश २ बाहेक सबै प्रदेशमा मतदान भएको छ । लुम्बिनी प्रदेशको भैरहवामा विहान ११ बजेदेखि पार्टीको प्रदेश नेतृत्वका लागि मतदान भएको थियो ।

लुम्बिनी प्रदेशमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

संस्थापन पक्षबाट प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह नेतृत्वको प्यानल र संस्थापनइतर समूहबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको समूह प्रतिष्पर्धामा छ ।

सम्पन्न निर्वाचनबाट प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री गरी ९ जना पदाधिकारीमा चयन हुनेछन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस्तै प्रत्यक्ष सदस्य तर्फ १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछन् । समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिला सहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसंख्यक वा अपाङगमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।

गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरी मतदान शुरु गरिएको थियो ।

प्रतिक्रिया