मंगलबार, वैशाख ९, २०८२

साफ यू–१९ महिला टोलीको विदाई

मेरोन्यूज २०७८ मंसिर २० गते १९:१५

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यू–१९ टोलीको विदाई गरेको हो ।

प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदैछन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ । टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन् ।

डिसेम्बर ११ तारिखदेखि २२ तारिखसम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।

पाँच टोलीले राउन्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।

प्रतिक्रिया