महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभवमा युवाको जोस आवश्यक

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरुले संगठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा समयसँगै पार्टीभित्र रुपान्तरणको खाँचो रहेको बताउँछन् । यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रुपान्तरण रहेको छ ।
कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस अहिले किन कमजोर भयो ? यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ,’ सिंहले भने ।
नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरू अगाडि आउनु पर्ने बताउँछन् । ‘पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन सबल र सक्षम बन्न सक्छ,’ उनको तर्क छ । बागलुङ क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि पार्टीभित्र आम एकताको खाँचो रहेको बताउँछन् ।
‘पुराना नेताहरु सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सबल र सक्षम बन्न सक्छ,’ उनले भने । शीर्ष नेताको सहमतिबिना नयाँ नेतृत्व आउँदा पार्टी कमजोर हुने उनको भनाइ थियो ।
कास्की क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहे जसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनु पर्ने बताउँछन् । ‘उमेरभन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट संगठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रुपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो,’ उनले भने ।
कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताए । ‘अग्रजको सल्लाह र युवा र महिला दिदीबहिनीको साथ लिएर पार्टीलाई रुपान्तरण गर्नु आजको आवश्यकता हो,’ उनले भने । राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली शुक्रबार प्रकाशन भएको छ । उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुने छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आज साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन आज राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने छ । मतदानमा २९ किसिमका मतपत्र हुने छन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

















भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया