शनिबार, पुष १२, २०८२

एक वडा, एक किलोमिटर सडक कालो पत्र योजना

मेरोन्यूज २०७८ पुष ११ गते ७:२८

पाल्पा । तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा सहज रूपमा यातायात सुविधा पुर्या‍उने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।

आठौँ नगर परिषद्ले निर्णय गरी चालु आर्थिक वर्ष २०७८–७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत काम अगाडि बढाइएको हो । यसका लागि करिब १५ करोड बजेटसमेत विनियोजन गरिएको छ ।

पहिलो चरणमा सात सयदेखि नौ सय मिटरसम्म सडक कालोपत्र हुने छ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन–चार वर्षभित्र कलोपत्र हुँदै जाने नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए । वडा २ मा उपभोक्ता समितिबाट काम अगाडि बढाइएको छ भने अन्य वडामा निर्माण व्यवसायीबाट काम अगाडि बढेको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जिनियर रामप्रसाद श्रेष्ठले बताए ।

नगरपालिकाले ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहज रूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो । एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम थालनी भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जन जानकारी दिए ।

प्रतिक्रिया