बिहीबार, पुष १०, २०८२

अंग्रेजी नयाँ वर्षमा चार ग्रहको राशी परिवर्तन, कस्को के हुने ?

मेरोन्यूज २०७८ पुष १५ गते १२:५१

काठमाडौँ । जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौँ जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो ।

हाम्रो पञ्चांग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो । जुन विभिन्न चाड पर्वसँग मेल खएको छ ।

पञ्चांग क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू जोडिएका छन् । यही समयबाट नयाँ ऋतु तथा बोट बिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य प्रथम राशी मेषमा गोचर गर्दछ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।

सन् २०२२ ज्योतिषीय दृष्टिकोणले विश्व जगतका लागि महत्वपूर्ण सालका रूपमा रहने छ । यो सालमा चार ठूला र शक्तिशाली ग्रहहरूले राशी परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक–फरक रूपमा देखा पर्ने छ ।

विश्वमा हुने ठूला परिवर्तनले नेपालीको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहबाहेक अन्य पाँच ग्रहहरूको राशी परिवर्तन भने हरेक ३० देखि ४५ दिनभित्र भइरहेको हुन्छ । अंग्रेजी नयाँ वर्षमा यी चार ठूला ग्रहको राशी परिवर्तनले विश्व बजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखा पर्ने छ ।

शनिबारदेखि नयाँ वर्ष प्रारम्भ हुने हुँदा विशेषगरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहने छ । बृहस्पति शनि ग्रहभन्दा अगाडि रहेकाले ठूला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयर बजारमा लगातारको व्यापारघाटा १९ अप्रिलपछि लगातार उकालो लाग्नेछ । नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ ।

२२ फेब्रुअरीदेखि २३ मार्चसम्म देवगुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहने हुँदा विशेषगरी संकल्प गरेर गरिने ठूला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहने छन् ।

विश्वमा नयाँ रूपमा देखा परेको कोरोना भाइरसले विश्वका पश्चिमी देशमा उच्च प्रभावमा ल्याउन खोज्ने छ । डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग छ । पुनः १० अप्रिल २०२२ देखि बृहस्पतिले शनिको राशी छाडेर आफ्नै राशी मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिने छ ।

कोरोनालाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि हुने योग छ । खेलकुद मनोरञ्जनका क्षेत्रहरू विस्तारै अगाडि बढ्दै जाने छन् ।

अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रह योग बनेको छैन । ४ अप्रिलसम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ ।

ठूला तथा नाम चलेका आर्थिक काम गर्ने संघ संस्थालाई अहिलेको योगले पूर्ण रूपमा प्रभाव पर्ने छ । जसले बैंकिङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनु पर्ने ग्रहयोगले देखाएको छ ।

ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्षभरि नै स्थिर अवस्थामा रहने छैनन् । जसका कारण विभिन्न राशीलाई शनिको साढे साती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । शनिग्रह स्थिर नहुँदा नेपाललगायत पूर्वी तथा दक्षिणी देशमा कानुनको कडा नियम पालना गर्नु पर्नेमा आवाज उठ्ने छ ।

सवारी तथा वायुयान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिबारदेखि नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनु पर्ने छ ।

करिब १८ वर्ष सात महिनापछि १० अप्रिलदेखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशीमा आउने छन् । राहु तथा केतु सधैंभरि बक्री गतिमा चल्ने ग्रह भएकाले यसको फल मिश्रित रूपमा पर्ने छ । राहु अग्नि कारक ग्रहको राशीमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउने छन् ।

तुला राशीमा बसेको केतु ग्रहको कारण विभिन्न बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहने छ । भिडियो टेक्नोलोजीले विश्वास गुमाउनु पर्ने योग रहेकाले विशेष सावधानी अपनाउनु पर्ने छ । विशेषगरि मेष, बृष, मकर तथा धनु राशी हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन, कर्कट, तुला तथा वृश्चिक राशी हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुने छ ।

सन् २०२२ मा मीन राशी हुनेहरूका लागि शनिको साढे साती दशा प्रारम्भ हुने छ भने कर्कट, तथा बृश्चिक राशी हुनेका लागि शनिको अढैया दशा प्रारम्भ हुनेछ ।

धनु राशीलाई साढे साती दशा मिथुन र तुला राशी हुनेका लागि भने शनिको अढैया दशा समाप्त हुनेछ । शनि मकर राशीमा हुँदा धनु, मकर तथा कुम्भ राशी हुनेका लागि शनिको साढे साती दशा चलिरहने छ भने मिथुन तथा तुला राशी हुनेका लागि अढैया दशा चलिरहने छ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभफलमा वृद्धि हुने छ ।

(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एशियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

प्रतिक्रिया