मंगलबार, वैशाख १६, २०८२

एमसीसी दलहरुको अस्त्र कि क्षेप्यास्त्र ?

एमसीसी संसदमा कार्यसूची नबन्ने, सडकमा प्रदर्शन गर्न नछाड्ने

मेरोन्यूज २०७८ पुष १८ गते १३:५७

काठमाडौं । अमेरिकी सहयोग परियोजना अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पारित हुने नहुने अन्यौल छ ।

यो परियोजना संसदबाट अनुमोदन हुनुपर्ने प्रस्ताव भएकाले सत्तारुढ दलहरु संसदबाट पारित गरेर बजेट हात पार्ने दाउमा छन् । तर सत्तारुढ दलहरु यसलाई संसदमा अघि बढाउने हिम्मत भने गरिरहेका छैनन् ।

सार्वजनिक रुपमा शीर्ष नेताहरुले एमसीसी पास गर्नुपर्छ वा पर्दैन भन्न नसकिरहेकाबेला सत्तारुढ एक घटक नेकपा (माओवादी केन्द्र) को महाधिवेशन उदघाटन कार्यक्रममा पुस ११ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने अभिब्यक्ति दिए । उनले एमसीसीमा राष्ट्रघात नभएको दाबीसहित सित्तैमा आएको पैसा फिर्ता जान दिन नहुनेमा जोड दिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीको कार्यकालमा एमसीसी पास गर्नेमा ओलीप्रति आशंका थियो । प्रधानमन्त्रीबाट हटेपछि भने ओलीले सरकारले यसबारेमा बोल्नुपर्ने बताइरहँदा देउवाले माओवादीको मञ्चमा प्रमुख अतिथिको आशनबाटै एमसीसीको विरोध गर्नेहरुलाई अध्ययन गर्नसमेत सुझाएका थिए ।

एमसीसीबारे प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिपछि राष्ट्रिय राजनीति नै तरंगित भएको छ ।

माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा पनि एमसीसीको विषय उल्लेख भएपछि महाधिवेशनमा यो छलफलको विषय बन्यो । संशोधन गरेर एमसीसी पास गर्नुपर्ने प्रचण्डको प्रस्तावमाथि माओवादीको बहुमत प्रतिनिधिले विरोध गरे । एमसीसी खारेज गरेर जानुपर्ने आवाज महाधिवेशनमा उठ्यो ।

माओवादी महाधिवेशन अघि मंसिर २८ गते बोलाइएको संसदको दशौं अधिवेशनमा एमसीसी टेवल गर्ने योजना थियो । एमसीसी संसदको कार्यसूची बन्ने आशंकामा संसदभित्र र बाहिरका केही दलहरु सडक आन्दोलनमा उत्रिए । उक्त दिन कार्यसूची अघि बढ्न सकेन ।

त्यसयताका बैठकहरुमा पनि एमसीसी कार्यसूची बन्न सकिरहेको छैन ।

यता, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लवको नेकपा, मोहन विक्रमको मसाल लगायतका साना ठूला २२ राजनीतिक दल तथा संघ संगठनहरु (राष्ट्रिय जागरण परिषद् नेपाल एकीकृत समाजवादीमा एकता भइसकेकोबाहेक) ले एमसीसीविरुद्ध मोर्चाबन्दी गरेर सडक आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री देउवाको पछिल्लो अभिब्यक्तिपछि संसद भवन बानेश्वरमा एमसीसीविरुद्ध दैनिक प्रदर्शनहरु भइरहेका छन् । संसद बैठक डाकिएको दिन ती दलहरुले संसद घेराउ कार्यक्रम गर्दै आएका छन् । एमसीसी संसदमा कार्यसूची बन्न नदिनकै लागि दबाबमुलक प्रदर्शन जारी राखिएको एमसीसी विरोधी २२ दलीय मोर्चाका संयोजक सीपी गजुरेल बताउँछन् ।

आइतबार संसद बैठक बोलाइएकाले २२ दलीय मोर्चाले काठमाडौंमा प्रदर्शन नगर्दै माओवादी केन्द्रको महाधिवेशन नसकिएको कारण जनाएर संसद स्थगित गरिएको छ । अब पुस २२ गतेका लागि संसद बैठक बोलाइएको छ ।

एमसीसी बहस लम्बिदै जाँदा एमसीसीको विरुद्धमा श्वरहरु घन्किन थालेका छन् । एमसीसीकै कारण आगामी निर्वाचनमासमेत असर पर्ने भएपछि दलहरुले एमसीसी अघि बढाउने आँट सत्तारुढ दलहरुले पनि गर्न सकेका छैनन् । राजनीतिक अस्त्र बनेको एमसीसी कसले प्रहार गर्ने अन्योलको विषय बनेको छ ।

प्रतिक्रिया