बुधबार, चैत ४, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस्तो छ बागमती प्रदेशको तयारी

मेरोन्यूज २०७८ माघ ११ गते २१:२४

काठमाडौं । बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भोलि बुधबार हेटौँडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई उम्मेदवार बनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग रङको मतपत्र उपलब्ध हुनेछ ।

मतदान प्रक्रियामा बागमती प्रदेशका १०९ जना प्रदेशसभा सदस्यसहित प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख एवं उपप्रमुख २३७ जना गरी कूल ३४८ जनाले मतदाताका रूपमा सहभागी हुन पाउनेछन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र बुधबार नै नतिजा आउन सक्ने जनाइएको छ ।

मतदानस्थलमा चिकित्सकसहितको स्वास्थ्य परीक्षण स्थल सञ्चालन हुनेछ भने कोरोना परीक्षणको पनि व्यवस्था गरिएको छ । साथै खोप नलगाएका मतदाताका लागि खोप लगाउन खोप केन्द्र पनि सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण विशेष सावधानी अपनाइने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानस्थल प्रवेशका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ ।

मतदातामध्ये कोही कोरोना सङ्क्रमित भए वा कोरोनाको लक्षण देखिए अलग्गै राखेर मतदान गर्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया