शनिबार, पुष १२, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस्तो छ बागमती प्रदेशको तयारी

मेरोन्यूज २०७८ माघ ११ गते २१:२४

काठमाडौं । बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ ।

भोलि बुधबार हेटौँडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई उम्मेदवार बनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग रङको मतपत्र उपलब्ध हुनेछ ।

मतदान प्रक्रियामा बागमती प्रदेशका १०९ जना प्रदेशसभा सदस्यसहित प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख एवं उपप्रमुख २३७ जना गरी कूल ३४८ जनाले मतदाताका रूपमा सहभागी हुन पाउनेछन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र बुधबार नै नतिजा आउन सक्ने जनाइएको छ ।

मतदानस्थलमा चिकित्सकसहितको स्वास्थ्य परीक्षण स्थल सञ्चालन हुनेछ भने कोरोना परीक्षणको पनि व्यवस्था गरिएको छ । साथै खोप नलगाएका मतदाताका लागि खोप लगाउन खोप केन्द्र पनि सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण विशेष सावधानी अपनाइने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानस्थल प्रवेशका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ ।

मतदातामध्ये कोही कोरोना सङ्क्रमित भए वा कोरोनाको लक्षण देखिए अलग्गै राखेर मतदान गर्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया