सुरक्षामा पर्याप्त बजेट विनियोजन गर्न कञ्जुस्याईं नगरौं–गृहमन्त्री बादल
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी बजेटमा कन्जुस्याई नगरी सुरक्षा क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । बुधबार गृह मन्त्रालयमा आ.व. २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका हुन् ।
सुरक्षामा गरीने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताउँदै उनले सुरक्षामा लगानी गर्न लोभ गर्न नहुने बताए । उनले भने ‘तथ्याङ्कले सिमामा बिओपीको संख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।’
गृह मन्त्रालय र सोअन्तर्गतका निकायहरुको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको बताउँदै कार्यशैली परिमार्जन गर्न गृहमन्त्रीले कर्मचारीहरुलाई निर्देशन दिए । गृहमन्त्रीले भने, ‘ हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पूरा गर्न सकेनौं, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरबाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन ।’
गृहसचिव महेश्वर न्यौपानेले मातहतका निकायको दोस्रो चौमासिक अवधिसम्म पूँजिगत खर्च कम भएको तथा बेरुजु फछ्र्याेट कम भएको भन्दै त्यसमा गुणत्मक परिवर्तन हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायत निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिकाे समेत सहभागिता थियाे ।
प्रतिक्रिया