बुधबार, चैत ४, २०८२

गोली हानी लाहानमा सुनचाँदी व्यवसायीको हत्या, घटनामा संलग्न दुई जना पक्राउ

मेरोन्यूज २०७७ चैत २९ गते ९:१६

लहान । लुटेरा समूहले गएराति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

बम विस्फोटमा संलग्न थप एक पक्राउ
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । (रासस)

प्रतिक्रिया