आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

पर्वत । पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रतिघर रु १० हजारका साथै अस्थायी बासस्थानका लागि पाल, त्रिपालसहितका सामग्री वितरण गरेका छन्
मन्त्री लम्सालले गर्मी बढिरहेको तथा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका केही वनजङ्गलमा डढेलो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गरे । खडेरीको मौसममा वन डढेलो लागि बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पु¥याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।
शुक्रबार दिउँसो साढे २ बजे जङ्गलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा पाँच घर र १५ गोठ जलेर पूर्ण क्षति पुगेको थियो । स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमासमेत आगलागीले क्षति पु¥याएको छ । पन्ध्र गोठ जलेको र भैँसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको छ ।
यसअघि स्थानीय पैँयु गाउँपालिकाले जनही रु १० हजार, खाद्यान्न, लत्ताकपडा र त्रिपालसमेत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट पाँच घर पूर्ण विस्थापित हुनुका साथै अन्य पाँच घरमा आंशिक क्षति पुगेको उहाँको भनाइ छ । रासस
–––









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया