शुक्रबार, चैत २०, २०८२

प्रधानमन्त्रीको माधव नेपाललाई चेतावनी : पार्टीमाथि धावा बोल्नेलाई ठीक लाइन्छ

‘माधव नेपालले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’

मेरोन्यूज २०७७ चैत ३० गते १९:१९
फाइल फोटो


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीभित्र समानान्तर गतिविधि कायम राखिराखे माधव नेपाल पक्षलाई ठीक लगाउने चेतावनी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षले देशव्यापी संगठनमा समानान्तर संगठन निर्माण गर्दै जान थालेपछि ओलीको त्यस्तो चेतावनी आएको हो । नेपाल पक्षले आइतबार मात्रै प्रदेश २ का ओली पक्षका प्रदेशसभा दल नेता सत्यनारायण मण्डललाई हटाएर आफू पक्षका शत्रुधन महत्तोलाई नेता चयन गरेको थियो ।

त्यस्तै नेपाल पक्षले कतिपय जिल्लामा समानान्तर कमिटी बनाउँदै लगेका छन् । समानान्तर गतिविधि जारी राख्ने र पार्टीमाथि धावा बोल्ने क्रम नेपाल पक्षले नरोकेमा ठीक लगाउने चेतावनी प्रधानमन्त्रीले सोमबार एक सार्वजनिक कार्यक्रममार्फत नै दिएका हुन् ।

उत्पीडित जातीय मुक्ति समाजको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाललाई पार्टीको सदस्यबाट निष्कासन नगरी निलम्बन मात्र गरिएको तर अझै पार्टीमाथि धावा बाेल्ने काम नरोकेमा भने थप कारवाही हुन सक्ने पनि बताए ।

‘समूहगत छलफल हुँदैन । व्यक्तिगतरूपमा माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्नु भयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

ओलीले नेकपामा रहँदा प्रचण्डसँग मिलेर आफूलाई निष्कासन गरेका तर्फ संकेत गर्दै विगतका अपराधप्रति पश्चाताप गरी जनतासमक्ष उभिएर माफी मागेमा माधव नेपाललाई एमालेमा काम गर्न दिइने बताए । प्रचण्डसँग मिलेर आफूहरुलाई निष्कासन गरेको शैली माधव नेपालले अहिले पनि कायमै राखेको भन्दै ओलीले नेपाललाई आफूले पनि कारवाही गर्न सक्ने बताएका हुन् ।

नेपाल पक्षले देशभर समानान्तर कमिटी बनाउदा आउने चुनावमा टिकट दिने भनी दिएकाे आश्वासनलाई पनि ओलीले कडा शब्दमा टिप्पणी गरे ।

ओलीले भने, ‘एमाले बलियो बनाउने भन्दै जिल्ला-जिल्लामा अर्को पार्टी बनाउँदै हिँडेका छन् । मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अहिले फेरि चारजना साथीहरूलाई हटायौं भन्दैछन् रे । ठीक छ धित मार, निकाल्ने रहर पुर्याऊ । हामीले टाँसिदिएको जुँगा अलि दिनपछि हामी निकाल्दिन्छौं । एमालेबाहेक सबैसँग मिल्ने भनेर हिँडेका छन्, यो मौका आउँदैन जे गर्ने हो गरे हुन्छ । एउटा हल्ला छ,केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस् म दिन्छु । टिकट त बसपार्कमा फालाफाल छ त । त्यो पनि उहाँले सक्नुहुन्न । तर उहाँले अब एकजना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’

प्रचण्डसँग मिलेर विगतमा माधव नेपालले गरेको कारवाहीलाई किर्नाले भैंसी खाएको जस्तै हो भन्दै ओलीले किर्नो ढाडिएपछि भैंसीको जिउबाट आफैं खस्ने गरेको उदाहरण दिए ।

‘यिनीहरूले साधारण सदस्यबाट मलाई निकालेका होइनन् ? सफल हुने भए त्यतिबेलै हुन्थे । मैले त्यतिबेलै भनेको थिएँ, उस्तैपरे चेसमा प्यादाले मन्त्री खान्छ, भुसुनाले हात्ती खान्छ । किर्नाले भैंसी खान्छ । यिनीहरुले हामीलाई गरेको कारवाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो, पेट पटुक्क भयो फुत्रुक्क खस्यो ।’ ओलीले भने ।

वामपन्थी सरकार ढाल्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले छद्मभेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी तत्त्वहरुको खेललाई अगाडि जान नदिने बताए । ओलीले भने, एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन होऔ । शेरबहादुरजीलाई भेट्यो– दाइ प्रधानमन्त्री भइदिनुपर्याे । महन्थ जीलाई भेट्यो–ए दाइ प्रधानमन्त्री भइदिनु पर्याे । किनभन्दा कम्युनिष्ट सरकार ढाल्नु पर्याे क्या । त्यसकारण शेरबहादुर भइदिनु पर्याे । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्याे । कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिष्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्त्वहरु अहिले पनि छन् । सलबलाइरहेका छन् । यी चुनौती अहिले पनि छन् । तर तपाईंहरु ढुक्क रहनुहोस् यस्ता छद्मभेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र अपराधिक उद्देश्य सफल हुन सक्ने छैन ।’

प्रतिक्रिया