गण्डकी र लुम्बिनीको सहमतिले जसपामा विवाद
केन्द्रको निर्णयविना हस्ताक्षर गर्न तयार हुने सांसदहरूलाई कारबाही गर्नु पर्ने ठाकुर र महतो पक्षधरको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी केन्द्रको निर्णयविना प्रदेशमा सत्ता समीकरण गरेको भन्दै लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
जसपाका गण्डकी प्रदेशसभाका दुई सांसदले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज दर्ता गर्ने तयारी भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् । लुम्बिनीमा मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न जसपाका सांसदहरूले सहमति जनाएका छन् । लुम्बिनीमा जसपाका ६ सांसद छन् ।
गण्डकीमा रहेका जसपाका २ सांसद तत्कालिन नयाँ शक्ति पार्टीबाट जितेका हुन् । लुम्बिनीमा रहेका ६ सांसदमध्य तत्कालिन राष्ट्रिय जनता पार्टीका एक र समाजवादी पार्टीका ५ सांसद हुन् ।
केन्द्रमा जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नेपाली कांग्रेस र माओवादीले बनाउने तयारी गरेको नयाँ गठबन्धनलाई समर्थन गर्ने भन्नेमा दुई धार छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय गरेको भन्दै उनलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादीलाई समर्थन गर्नु पर्ने पक्षमा छन् ।
अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने आफूहरूका माग पूरा गर्न ओली सकारात्मक रहेकाले अर्को समीकरणमा तत्काल हाम फाल्न नहुने बताइरहेका छन् । यादव र डा. भट्टराई पूर्वसमाजवादी पार्टी , ठाकुर र महतो पूर्व राष्ट्रिय जनता पार्टीका नेता हुन् ।
गण्डकी मा सांसद दुवै जना पूर्वसमाजवादी पार्टीका र लुम्बिनीमा ६ मध्य ५ पूर्वसमाजवादी पार्टीका भएकाले केन्द्रमा कांग्रेस माओवादी पार्टीतिर लाग्नुपर्छ भन्ने यादव र डा.भट्टराईसँगको सहमतिमा प्रदेशको माओवादी र कांग्रेस गठबन्धनलाई समर्थन गरेका हुन् । यस विषयमा मंगलबार साँझ यादव र डा. भट्टराईले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए ।
वरिष्ठ नेता राजेन्द्र महतोले गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोग गर्ने पार्टीको कुनै पनि निर्णय नभएको बताए । केन्द्रको निर्देशनविना प्रदेशका सांसदहरूले कसरी निर्णय गरे भनेर ठाकुर र महतोले यादव र डा. भट्टराईलाई प्रश्न गरिरहेका स्रोतले बतायो ।
महतोले औपचारिक कुनै निर्णय नभएको स्वीकारे । लुम्बिनी र गण्डकीबारे के हो पार्टीको आधिकारिक लाइन भन्ने विषयमा सोधिएको प्रश्नमा महतोले भने, ‘म जनकपुर छु । केन्द्रमा आएपछि कुरा गरौंला । यत्ति बुझ्नुस हामीले केन्द्र होस या प्रदेश कसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेका छैनौं ।’
स्रोतका अनुसार केन्द्रको निर्णयविना अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र गर्न तम्सिनेहरूलाई कारबाही गर्न बैठक बोलाउन दबाब ठाकुर र महतो पक्षले दिइरहेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया