शुक्रबार, चैत २०, २०८२

खोटाङमा व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

मेरोन्यूज २०७८ वैशाख ७ गते ६:४८

खोटाङ । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।

परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए ।

वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरेबराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ र ०७७÷७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार, जेल, मृत्युदाबी भुक्तानी तथा अङ्गभङ्गलगायत आएका ५८ मुद्दामध्ये २९ सफल भएको, २२ प्रक्रियामा रहेको र सातवटा असफल भएको परियोजनाले जनाएको छ ।


पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिए । परियोजनाले सोमबार दिक्तेलस्थित बालसेवा समाजको कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईसमेत सहभागी भएका थिए ।

सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण आचार्यले वैदेशिक रोजगारीमा जाने जिल्लाका युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

“सामी परियोजनाले युवापुस्तालाई विभिन्न बहानमा विदेश पठाउने काम गरेको छ”, उनले भने, “वर्षेनी विदेशिने युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण स्थानीय सरकारले बनाउनुपर्‍यो । अनि मात्र सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।”

नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट युवापुस्तालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सारिएको बताए । “वैदेशिक रोजगारीमा जान चाहने युवापुस्तालाई तत्काल रोक्ने स्थिति त छैन”, उनले भने, “क्रमिकरुपमा स्वरोजगारमूलक कार्यक्रमहरु लागू गरेर विदेश जाने युवालाई आफ्नै क्षेत्रमा स्वरोजगार बनाउने योजनामा छौँ ।”

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तथा तालीम, निःशुल्क कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालनलगायतका काम गर्दै आएको छ । (रासस)

प्रतिक्रिया