यसरी तोडियो प्रधानमन्त्री ओली र माधव नेपाल वीच सम्वादहिनता
माधव नेपाल भन्छन्, –‘साथीहरुसँग छलफल गर्नै बाँकी छ । अहिले केही बोल्दिनँ ।’

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी ओली र माधव नेपालवीच अन्त्यहीन जस्तो लाग्ने झगडाले पार्टी नै विभाजनको डिलमा पुगेको वताईरहँदा वुधबार दुई नेतावीच आकस्मिक भेटवार्ता भएको छ । ओलीले नेता नेपाल सहित नेपाल पक्षका २७ संघीय सांसदलाई ‘संसद्को सदस्य पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेपछि झलनाथ खनाल र माधव नेपाल पक्ष ओलीले अव जुनुकुनै समयमा आफुमाथी कारवाही गर्न सक्छन् भन्ने निश्कर्षमा पुगेका थिए ।
ओलीले एक पछि अर्काे कारवाही अगाडी वढाएपछि एमाले विभाजन नजिक पुगेको वुझाईमा धेरै नेता – कार्यकर्ता थिए । दुई दिन यताका राजनीतिक गतिविधिले त झन् एमालेको विभाजन अव टार्न सकिन्न भन्ने विश्लेषण हुन थालेको थियो । त्यही वीच खनाल र नेपाल भने ओलीका विरुद्ध कानुनी र राजनीतिक दुवै लडाईमा होमिने गरी तम्तयारीमा लागेका थिए ।
वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ, टिकाराम भट्टराई, गोविन्द वन्दी लगायतसँग नेपाल लगायतका नेता छलफलमा थिए । २३ फागुनको एमाले-माओवादी ब्यूताईदिने सर्वाेच्चको निर्णय पछि ओलीले पार्टी, त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई आफु अनुकुल बनाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुसँग नेपाल लगायत नेताले सर्वाेच्चमा रिट दर्ता गर्ने गरी छलफल चलाईसकेका थिए ।
त्यही छलफलका आधारमा सर्वाेच्च जाने निर्णयमा खनाल – नेपाल पुगिरहदा नेपाल पक्षका नेता योगेश भटटराई भने प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई भेटन बिहान् ११ बजे योगेश भट्टराई वालुवाटार पुगेका थिए । उनले ओलीलाई उदार भएर पार्टी एकता जोगाउन अपिल गरे । नेता माधव नेपालसँग सम्वाद गर्न सुझाए । त्यसपछि उनी पार्टी जोगिने /नजोगिने प्रधानमन्त्रीकै हातमा रहेको भन्दै बालुवाटारबाट वाहिरिन खोजे । तर त्यही वीच प्रधानमन्त्री ओलीले के सोचे कुन्नी ! त्यहीबाट माधव नेपालसँग टेलिफोन सम्वाद गरे ।
आफुले सम्वाद गरेर सम्वादहिनता तोडन चाहेको र एकता वार्ता गर्न चाहेको नेपालसँग बताए । त्यसपछि भने वार्ताको लागि वातावरण वनाउने गरी योगेश बालुवाटारबाट वाहिरिए ।
शुरुमा ओलीले नेपाललाई बालुवाटारमा भेट् गर्न आउन आग्रह गरेका थिए , तर नेपालले कोटेश्वर आउन भनेका थिए । पछि ओलीले बालकोट मा भेट्न् प्रस्ताव गरे । त्यसमा पनि नेपालले नमाने पछि मोरियटमा भेट् भएको हो । बालुवाटार स्रोतका अनुसार, त्यसपछि भने प्रधानमन्त्री ओलीले आफना आर्थिक सल्लाहकार मोतिलाल दुगडलाई बोलाए । नेपालसँग छलफल गर्ने होटल आफैले छाने, – मोरियट । त्यसपछि दुगडलाई उक्त होटलमा उनकै नाममा कोठा वुक गर्न लगाए । त्यसपछि दुगडले ‘स्वीट रुम ९०१’ बुकिङ गरे ।
त्यक्तिवेलासम्म माधव नेपाल पक्षका कानुन ब्यवसायी सर्वाेच्च पुगिसकेको थियो । फागुन २३ मा सर्वाेच्चले नेकपाको एकता वदर गरेर पूर्ववत पार्टी ब्यूताएपछि ओलीले फागुन २८ मा नेपाल पक्षलाई बोलाउँदै नबोलाई पार्टी केन्द्रीय कमिटिलाई महाधिवशेन आयोजक कमिटिमा वदल्ने, माओवादी केन्द्र छोडेर एमाले आएका २३ नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने देखि नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने सम्मका निर्णय लिएका थिए ।
ओलीको यो निर्णय देखि नेपाल पक्ष शुरु देखि नै ओलीसग चिढिएको थियो । त्यही फागुन २८ को निर्णय विरुद्ध नेपाल पक्ष सर्वाेच्च पुगेका हुन् ।
‘फागुन २८ गतेको कथित निर्णय, सो निर्णयका आधारमा गरिएको अन्तरपार्टी निर्देशन, हामीलाई गरिएको र गर्न लागेको भनिएको कारबाही, पार्टी विधानको संशोधन, कार्यविभाजन, बाधा अड्काउ फुकाउने आदेशसमेत प्रारम्भदेखि नै गैरकानुनी दुराशययुक्त, नेपालको संविधान र राजनैतिक दलसम्बन्धी ऐन विपरित भएकाले बदर गरिपाउँ,‘- नेपाल पक्ष सर्वाेच्चमा रिट वोकेर पुगेका थिए ।
उनीहरु एमाले पार्टी त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई पूर्ववत रूपमा कामकाज गर्न दिनू दिलाउनू भन्ने परमादेश जारी गरिपाउँ भन्दै अदालत पुगेका थिए । तर त्यसलाई अदालतले अध्ययनकै क्रममा रहेको वताएर वुधबार दर्ता भने गरेको थिएन।
यो वीचमा वुधबार नै माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमसँग पनि सम्वाद गरेका थिए । ओलीको प्रवृतिका विरुद्ध सामुहिक रुपमा लड्न र आफुहरुलाई साथ दिन उनीहरुले गौतमसँग आग्रह गरेका थिए । गौतमका छोरा हरिशको नागपोखरीस्थित कार्यलयमा पुगेर नेपाल र खनालले गौतमसँग सम्वाद गरेका थिए । त्यसपछि भने ओलीले सम्वादका लागि निम्तो गरेपछि नेपाल पक्ष आफु निकट स्थायी समिति बैठकमा छलफल गरेर ओलीसँग भेट गर्न जाने निश्कर्षमा पुगेको थियो ।
ओलीसँग हुने छलफलमा नेपाल जाने, त्यहाँ हुने छलफल पूनः समुहमा आएर छलफल गर्ने समझदारी पछि नेपाल ओलीलाई भेटन ओलीले बन्दोवस्त गरेको होटल मेरियटमा पुगेका थिए । पौने ५ मा होटल मोरियट पुगेका नेपालले त्यहाँ ओलीसँग झण्डै दुई घण्टा छलफल गरे ।
भेटवार्ताका लागि वातावरण निर्माणमा सहयोगी वनेका अर्थमन्त्री विष्णु पौडेल पनि होटल पुगेका थिए । तर दुई नेतालाई मात्र वान अन वान सम्वाद गर्न छोडिदिएर पौडेल भने केहीबेरमै निस्किएका थिए ।
होटलको कोठा वुक गरेका दुगड भने दुई नेताको सम्वाद नसकिदा सम्म होटल भित्रै थिए । ओली र नेपालका वीचमा एक महिना लामो समय प्रत्यक्ष सम्वाद हुन सकेको थिएन । अदालतले पूर्ववत पार्टी ब्यूताईदिएपछि गत चैत २ मा पार्टी कार्यालय धुम्वारहीमा दुई पक्षका वीच अन्य नेताहरु सहित वार्ता भएको थियो ।
गत चैत २ पछि प्रत्यक्ष सम्दाहिनता तोडदै ओली र नेपालले सम्वाद गरेपनि त्यहाँ भएका छलफलका विषय भने खुलाएका छैनन । नेता नेपाल होटलवाट वाहिरिँदै गर्दा ‘साथीहरुसँग छलफल गर्नै बाँकी छ । अहिले केही बोल्दिनँ ।’ भन्दै बाटो लागेका थिए । तर प्रधानमन्त्री ओली सञ्चारकर्मीको छेउमै परेनन ।
नेपाल निकट नेताका अनुसार, दुवै नेता आ -आफना अडानमै थिए । एक-अर्काका वीचमा देखा परेको तिक्त सम्वन्धका बारेमा मन माझामाझ गर्ने प्रयास भने वुधबारको छलफलमा ओली र नेपाल दुवैले गरेका थिए ।
तर ओलीले कुनै पनि शर्त नराखी पार्टीमा फर्कन आग्रह गरेको र नेपालले भने आफुलाई मानमर्दन र अपमान गर्ने गरी ओली अगाडी वढ्न खोजेको वार्ताका क्रममा वताएका थिए । दुवै नेताले यसै विषयमा मन माझामाझ गरेर सम्वाद गरेका थिए ।
‘उहाँहरु वीच अडान कायमै छन भन्ने सामान्य वुझिएको छ, थप वुझन पाइएको छैन, भोलि माधव कमरेडले केही विफ्रिङ गर्नुहोला, त्यसपछि थप थाहा लाग्ला,’ नेपाल पक्षका एक स्थायी समिति सदस्यले मेरो न्यूजसँग भने ।
ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । ’दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयो,’ दुगडले भने । छलफल दुगडले भने जस्तो सकारात्मक भए/नभएको केही खुलेको छैन । तर नेताहरुले सम्वादलाई फेरि निरन्तरता दिने र फेरि एक चरण आ -आफनो समुहमा छलफल गरेर सम्वादमा वस्ने विषयमा भने छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।
तर यस वीचमा भएका गतिविधि भने एमालेभित्रका नेता कार्यकर्ताका लागि प्रिय भने छैनन । ओलीले नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि पार्टीको सदस्यवाट निलम्वन गरेका छन् । नेपाल पक्षका सांसदले फलोर क्रस गरेर कर्णालीका माओवादीका मुख्यमन्त्रीको पद जोगाईदिने काम गरेका छन् । देशभर नेपाल पक्ष अहिले समानान्तर संगठन निर्माण गदै हिडेको छ ।
यसपछि ओलीले पनि नेपाल -खनाल पक्षमाथी कारवाहीको डन्डा चलाईरहेको छ ।
प्रचण्डसँग ओलीको टेलिफोन सम्वाद
वुधबार नै प्रधानमन्त्री ओलीले माधव नेपालसँग प्रत्यक्ष सम्वाद गरेका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका छन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले राजनीतिक सम्वादलाई तिव्रता दिएका छन् । त्यही क्रममा प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।
“प्रधानमन्त्रीले आफैँ टेलिफोन गरेर माधव नेपाललाई भेट्न बोलाउनुभएको हो । आजै साँझ पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि फोन संवाद भएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया