म्याग्दीको करबाकेलीमा सङ्ग्रहालय स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको बताए ।
“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उनले भने, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर राख्न थालेका छौँ ।”
सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भााडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।
सामग्रीहरुको सजावटको काम सकिएपछि सङ्ग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ ।
सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधी प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माणमा हालसम्म करिब ६८ लाख रुपैयाँ खर्च भएको समितिका सचिव रवि गर्बुजाले बताए ।
“अन्नपुर्ण गाउँपालिकाले सात लाख र प्रदेश सरकारले पाँच लाख रुप्ैयाँ सहयोग गरेका छन्”, उनले भने “बाँकी ५३ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो ।
समितिको तीन लाख रुपैयाँ खर्च भएको छ । घोषणा गरेको सहयोग प्राप्त हुने क्रम जारी छ ।”
पुन समुदायको अगुवाइमा स्थापना गरिए पनि सङ्ग्रहालयलाई म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । सङ्ग्रहालयले परम्परागत सामग्रीको संरक्षणसँगै पर्यटन प्रवर्दनमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।
पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।
स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाइएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।
मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।









झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया