सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ ।
जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ ।
पाँचौं दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।
यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिंडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए ।
बाजा पहिले नै हिंडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उनले बताए ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरियो जात्रा
जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो । जात्राका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।
वैशाख २ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक एवं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।
एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने गरी व्यवस्था मिलाइएको थियो । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको पनि समितिले जनाएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।
रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले बताए । बत्तीस हात लामो रथ निर्माणको व्यवस्थापनसमेत संस्थानले नै गर्ने गरेको छ ।
पहिलो दिन रथ असन लगी पूजा आराधना सकिएपछि असनमा मङ्गलबार राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
गत वर्ष रथयात्रा हुन नसकेकामा क्षमा पूजा
गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको महानगरपालिका–२५ का अध्यक्ष एवम समिति संयोजक शाक्यले बताए ।
सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाए ।
रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको थियो । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुनपानीले हात धुन पनि समितिले अनुरोध गरेको थियो ।
यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको थियो । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ ।
प्रत्येक साँझ रथ पुगेका स्थानमा स्थानीयवासीले १०८ दीप प्रज्ज्वलन गरी आर्यावलोकितेश्वर करुणामयको आरधना गर्छन् । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । जात्राले उपत्यकाको भित्री भागका स्थानीयवासीमा रोग व्याध नलाग्ने जन विश्वाससमेत छ । (रासस)









माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चार महिने छोराको हत्या गरेर भागेका असई पक्राउ
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया