‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न कर्णाली एमालेकाे प्रदेशसभा सचिवालयलाई पत्र (पत्रसहित)

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ ।
एमाले दलका नेता यामलाल कँडेलले आज प्रदेशसभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने व्यहोराको पत्र पठाएका हुन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको जानकारी दिए । एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो ।
उक्त मतदानमा पार्टीको निर्णय/निर्देशन (ह्वीप) विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए । शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान १ (ख) का प्रकाश ज्वाला, दैलेख १ (ख) का अम्मरबहादुर थापा, कालीकोट १ (क) का कुर्मराज शाही र डोल्पा १ (क) का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा भनिएको छ, “निज सांसदहरूको गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने ठहर गर्दै प्रदेशसभा दल र पार्टी प्रदेश कमिटीको सिफारिसका आधारमा कारबाही गरिएको छ ।”
मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गर्नेमध्ये थापा, शाही र बुढालाई मन्त्री पदमा नियुक्त गरेका छन् । सरकारमा थापा भौतिक पूर्वाधार विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । प्रदेशसभा सचिवालयले अबको १५ दिनभित्र उनीहरुलाई सांसद पदबाट हटाएको जानकारी प्रदेशसभालाई गराउनुपर्नेछ ।
सो सूचनालगत्तै ती सांसद स्वतः पदमुक्त हुनेछन् । एमालेले आफ्ना चार सांसदको पदमुक्त गरेसँगै कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय हुनेछ । यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरेको थियो । रेग्मी हाल एमालेको केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव छन् ।


















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया