कोरोना नियन्त्रणका योजना कागजमै सीमित, संक्रमण फैलिने जाेखिम

म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउँछन्, तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन ।
कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र जाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो । बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो ।
यही वैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना सङ्क्रमण भएको छ । यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरवाहीले सङ्क्रमण फैलिएको बताए ।
“हात धुने ठाउँ हटेका, भीडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन्”, उनले भन्नुभयो, “ओपिडिमा धेरैजसो श्वासप्रश्वासका बिरामी आउन थालेका छन् । भिड नियन्त्रण र अनुशासनमा नरहने हो भने म्याग्दीमा कोरोना भयावह हुने खतरा छ ।” विदेश, कोरोना फैलिएका जिल्ला तथा शहरमा हुने आवतजावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिविधिले कोरोना फैलिने जोखिम बढाएको हो ।
बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था मिलाइएको छ । स्थानीय तहले स्थापना गरेका पाँच/पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ ।
धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधि थप गर्न लागेको छ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ”, उनले भने, “निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्ने छ ।”
सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन । जोखिम बढे पनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्णरूपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको जिकिर गर्छन् ।
होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको प्रजिअ अधिकारीले बताए । कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको उनकाे भनाइ छ । सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उनले गुनासो गरे । रासस










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज कात्तिक १९ गते बुधवार,कस्ताे रहला तपाइकाे दिन ?
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
प्रतिक्रिया