महामारी नियन्त्रण बाहिर जान नदिन प्रहरीको उपस्थिति र निगरानी बढ्याे

काठमाडाैं । ‘सावधानी अपनाऔँ, मास्क देखाउनका लागि होइन, सङ्क्रमणबाट बच्न लगाउने हो, तसर्थ हेलचेक्र्याइँ नगरौँ ।’ अहिले विभिन्न जिल्लामा नेपाल प्रहरीले यस्तै नारा बोकेर सार्वजनिक सचेतना फैलाइरहेको छ । प्रहरीले व्यानरसहित ठाउँठाउँमा प्रदर्शन नै गरेर सचेतना फैलाउने प्रयास गरिरहेको छ ।
कुनै जिल्लामा ‘तपाईको मास्क खोइ रु’ भनेर सर्वसाधारणलाई झकझक्याउने प्रयास पनि प्रहरीले गरिरहेको छ । यस्तै मास्क वितरण गर्ने । मास्कको सही प्रयोग र मास्कलगाउन सिकाउने काम पनि प्रहरीद्वारा भइरहेको छ । त्यसका अलावमा सरकारको आदेश पालना गराउन टोलटोलमा खटिएर प्रहरीले आफ्नो भूमिका बढाउन थालेको छ ।
काठमाडौँको मैतिदेवी, ज्ञानेश्वर, डिल्लीबजार क्षेत्रमा सोमबार साँझ नेपाल प्रहरीको एक टोली सिटी फुक्दै आइपुग्यो । अर्को ट्राफिकसहितको प्रहरी टोली सवारी जाँच गरिरहेका थिए । अर्को टोली मोटरसाइकल र मोबाइल भ्यानमा हिँडेर बजारमा सचेत गराउँदै थियो । उनीहरु भीडभाड देखिएको ठाउँमा भीड नगर्न अनुरोध गर्दै थिए भने मास्क नलगाएकालाई मास्क लगाउन अनुरोध पनि गर्दै थिए । अटेर गर्नेलाई चेतावनी गर्दै केहीबेर गन्तव्यमा जानबाट रोक्दै पनि थिए ।
आज बिहानै पनि प्रहरी सोही अभियानका साथ सिटी फुक्दै सडक-सडकमा देखिएका थिए । यसरी प्रहरीले देखाएको सक्रियता केही दिनदेखि मात्रै शुरु भएको हो । त्यसअघि भने उपत्यकाका सडकमा प्रहरीको कोभिड केन्द्रित गतिविधि न्यून थियो । प्रहरीको सक्रियता कम हुँदा आदेश पालनामा सर्वसाधारणले हेल्चेक्र्याइँ गरिरहेका देखिन्थे ।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढेको र सरकारले पनि विभिन्न आदेश जारी गरेपछि काठमाडौँको मुख्य व्यापारिक तथा मानिसको भीडभाड हुने क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । मुलुकका ७७ वटै जिल्लामा प्रहरीको सक्रियता बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फैलिँदै गरेको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको आदेशानुसार प्रहरी मानिसको भीडभाड रोक्न र स्वास्थ्य मापदण्ड पालना गराउनतर्फ केन्द्रित भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । सरकारले यही वैशाख ६ गते कोभिड–१९ नियन्त्रणका लागि विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरेको थियो ।
मुख्य गरी शहरी क्षेत्रका महानगर, नगरपालिकामा भर्चुअल कक्षा चलाउने, सिनेमा हलजस्ता भीडभाड हुने क्षेत्र वैशाखभर बन्द गर्ने, विवाहजस्ता कार्यमा २५ भन्दा बढी सहभागी हुन नपाउने, होटल रेष्टुराँ बिहान ८ देखि राति ८ बजेसम्म मात्रै चलाउन पाइने, गाडीमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न पाइने र सबै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गरेको थियो तर अहिले सङ्क्रमण अझ बढेपछि परीक्षासमेत स्थगित गरिएको छ भने जिल्ला जिल्लाले आवश्यकतानुसार निषेधाज्ञा जारी गरिसकेको छ ।
उपत्यकामा यही १६ गतेदेखि निषेधको आदेश लागू हुँदैछ । त्यसमा अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ । विगतमा सक्रियता नदेखाए पनि पछिल्लो समयमा भने जिल्ला प्रशासन कार्यालय र स्थानीय तह आआफ्नो क्षेत्रमा निषेधका कार्यक्रम घोषण गर्न थालेपछि नेपाल प्रहरी पनि आदेश पालनामा सक्रिय भएर लागेको पाइएको छ ।
काठमाडौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि नै अत्यावश्यकबाहेकका सबै गतिवधि रोक्ने निर्णय भएसँगै उपत्यकामा सवारीको चाप कम हुन थालेको छ भने शहर छाडेर घरतर्फ जाने मानिसको भीड बढेको महानगरीय ट्राफिक प्रहरी माहशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । सोहीअनुसार महाशाखा र नेपाल प्रहरी मातहतका वृत्त/प्रभावबाट खटिएका प्रहरी भीडभाड रोक्ने र सहज आवागमन गर्ने अभियानमा लागेका छन् ।
माइकिङ गरेर पनि सार्वजनिक सचेतनाका कार्यक्रम चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मोटरसाइकल/मोबाइल भ्यानमा समेत खटिएका प्रहरी टोलीले स्वास्थ्य मापदण्डको पालना गराउने अटेर गर्नेलाई सचेत बनाएर छाड्ने गरिरहेका छन् । सरकारको आदेशानुसार समयभित्र होटल/पसल सञ्चालन गर्न लगाउने, मानिसको भीडभाड देखिए त्यसलाई रोक्नेलगायतका गतिविधिमा प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रवक्ता कुँवरले बताए ।
“अब आपराधिक घटना कम हुन्छ, सरकारी आदेशको कार्यान्वयनमा समग्र प्रहरी टोली नै परिचालित भइसक्यो”, उनले भने, “मुलुकभर झण्डै ५० हजार प्रहरी कोरोना सङ्क्रमण नियन्त्रणमा खटिइसके ।” कोरोना सङ्क्रमण फागुन महिनामा दैनिक १०० भन्दा कम थियो । चैतको अन्तिम लाग्दा ३०० देखि ५०० बीचमा भएको सङ्क्रमण दर वैशाख पहिलो हप्तामा चार अङ्कले बढेर एक हजार नाघेको थियो ।
अहिले दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित फेला पर्न थालेको छ । त्यसमा आधा उपत्यकाका रहेकाले पनि तराईको केही जिल्लासँगै उपत्यका उच्च जोखिममा छ । उपत्यकाका अस्पतालमा विरामी भरिन थालेकाले पनि उपचार नपाउने हो की भन्ने चिन्ता बढिरहेको जनस्वास्थ्यविद्को भनाइ छ ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया