बुधबार, वैशाख १०, २०८२

गोरखाको सिरानचोकमा रहेको ८० वर्ष पुरानो गोल घरको प्रवलीकरण

मेरोन्यूज २०७८ वैशाख १७ गते १९:०८

गोरखा । सिरानचोक गाउँपालिका–७ सिरानाथकोटमा ८० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ढुंगामाटोले बनेको परम्परागत गोल घरको प्रवलीकरण गरिएको छ । सिरानचोक गाउँपालिका तथा नेपाल आवास पुनर्निर्माण परियोजनाको समन्वयमा उक्त गोल घरको प्रवलीकरण गरिएको हो ।

२०७२ सालको भूकम्पले आंशिक क्षति भएको गोल घर पुर्खौली घर भएकाले समेत संरक्षण गर्न आवश्यक रहेको ८१ वर्षीय घरधनी डोलानाथ पाण्डेले बताए । उनले भने, ‘हाम्रा पालामा धेरै गोल घर बन्ने चलन थियो, ति सबै बनेका घरहरु भूकम्पले पूर्ण क्षति भए, यो घर भने आंशिक क्षति भएर बचेकाले प्रवलीकरण गर्न पाउँदा निकै खुसी छु, यो घरले हाम्रो मौलिक परम्परा जीवन्त राख्ने छ ।’

ऐतिहासिक एवम् मौलिक संरचनाको सम्बद्र्धन र संरक्षणमा जोड दिने कार्यलाई निरन्तरता दिने क्रममा गोल घर पनि मौलिक संरचना भएकाले यस घरलाई समेत प्रवलीकरण माध्यमबाट भूकम्प प्रतिरोधी बनाई जगेर्ना गर्न गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘गाउँपालिकामा समेत गोल घर नमुनायुक्त भएकाले परियोजनाको सहजीकरणमा प्रवलीकरण गरिएको हो’, अध्यक्ष गुरुङले भने ।

गोल घरमा तारजाली प्रविधिबाट प्रवलीकरणका गरिएको परियोजनाका जिल्ला इन्जिनियर अमित श्रेष्ठले बताए । परियोजनाले हालसम्म गोरखा नगरपालिकामा ८, पालुङटार नगरपालिका १५, सिरानचोक गाउँपालिका ६, शहिदलखन गाउँपालिका २, आरुघाट गाउँपालिकामा २ र धार्चे गाउँपालिकामा ५ गरी ४६ घरको प्रवलीकरण गरेको छ । परियोजनाले ५१८ स्थानीय डकर्मीलाई ढुंगामाटोले बनेको घर प्रवलीकरणसम्बन्धी तालिमसमेत दिएको छ ।

प्रतिक्रिया