मंगलबार, वैशाख ९, २०८२

कांग्रेस-माओवादी भागवन्डा

राष्ट्रिय सभाका रिक्त दुई पद : एक सिट कांग्रेस, एक सिट माओवादीलाई

मेरोन्यूज २०७८ वैशाख २२ गते ९:००

काठमाडौं । राष्ट्रिय सभाका रिक्त दुई पदमा कांग्रेस र माओवादीले गठवन्धन गरेर चुनाव लड्ने भएका छन् । रिक्त दुई पदमा कांग्रेस र माओवादी केन्द्रले एक/एक सिट भागवन्डा गर्ने गरी समझदारी बनेको छ ।

माओवादी तर्फबाट राष्ट्रिय सभामा वागमती प्रदेशबाट प्रतिनिधित्व गरेका रामबहादुर थापा (बादल) र लुम्बिनी प्रदेशबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का एमालेमा समाहित भएपछि माओवादी केन्द्रले दुवै सांसदको पद खोसेको थियो ।

सम्वन्धित दल त्याग गरेर अर्काे दलमा गएपछि सम्वन्धित दलले कारवाही गरे सांसदको पद गुम्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधी ६ महिना भन्दा बढी समय कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त रहेको पदमा ऐन वमोजिम बाँकी अवधीका लागि उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाका आधारमा वागमती प्रदेशमा आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको छ ।

एमालेले उक्त चुनावमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) लाई नै उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

कांग्रेस र माओवादी केन्द्रले भने संयुक्त रुपमा चुनाव लड्ने समझदारी बनाएका छन् । लुम्बिनीमा भने निर्वाचनको मिति तोकिईसकेको छैन । वागमतीका लागि शुक्रबार (वैशाख २४) मा उम्मेदवारी दर्ताको कार्यतालिका तय भइसकेको छ ।

वागमतीको रिक्त एक पद र लुम्बिनीको रिक्त एक पदमा कांग्रेस र माओवादीका वीचमा भागवन्डा गर्ने भनेपनि कुनमा कांग्रेस र कुनमा माओवादी केन्द्रले उम्मेद्वारी दिने भन्ने भने टुंगो लागिसकेको छैन ।

यसमा भागवन्डाको थप समझदारी बनाउन आजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का बीचमा छलफल हुने बताईएको छ ।

वागमतीका लागि शुक्रबार उम्मेदवारी दर्तापछि वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी २७ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।

त्यस्तै २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

वागमतीको निर्वाचनका लागि ५ दलले मात्र निर्वाचन आयोगमा चुनाव लड्ने गरी दल दर्ता गराएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेस र माओवादीकाबीचमा राष्ट्रिय सभा चुनावमा सहकार्य गरेर लड्ने समझदारी बनेको बताए । हामी दुई दल कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय सभा चुनावमा गठवन्धन गरेर लड्छौं, महतले भने, त्यसका लागि दुवै पार्टीकाबीचमा समझदारी बनेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गठवन्धन गरेर चुनाव लड्ने विषयमा छलफल भएको बताए । प्रतिगमनका विरुद्ध आन्दोलनमा रहेका शक्तिहरुकाबीचमा गठवन्धन गरेर चुनावमा जाने विषयमा छलफल भएको छ, अब यो एक चरणको छलफल पछि टुङ्गिन्छ, श्रेष्ठले भने ।

एमालेले भने जसको पद खोसिएको हो, उसैलाई उम्मेदवार बनाउने बताईसकेको छ । यसो हुँदा वागमतीमा गृहमन्त्री थापा (बादल) र लुम्बिनीमा चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाउने छ ।

कांग्रेस माओवादीले पहिले भागवन्डामा कुन प्रदेशमा कसले लिने भन्ने टुङ्ग्याएपछि उम्मेदवार टुङ्ग्याउने बताएका छन् । कहाँ कुन दलले लिने भन्ने आज छिनोफानो लाग्छ, त्यसपछि उम्मेदवारी तय गर्छौं, माओवादी केन्द्रका एक नेताले भने ।

प्रतिक्रिया