शुक्रबार, फागुन १५, २०८२

सगरमाथामा एकैदिन ८० आरोही

मेरोन्यूज २०७८ वैशाख २८ गते १८:३१
फाइल फाेटाे/मेराेन्यूज

सोलुखुम्बु । बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

“खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहनुभएका विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”

स्वदेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजे देखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाई छ । “१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिन्छ”, अधिकृत आचार्यले भनिन्, “त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।”

वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । त्यसपछि यो यामको दोस्रो आरोहण आज भएको हो ।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमति लिएका छन् । अधिकांश आरोही अहिले आधारशिविर पुगिसेका छन् भने ती मध्ये पनि धेरै आरोही क्याम्प एक, दुई हुँदै तीनसम्म पुगेर आरोहणका लागि अनुकुल मौसमको पखाइमा रहेका आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया