माधव नेपालले आफुनिकट कार्यदल सदस्यलाई भने-अडानमा लचिलो नहुनुस्
२०७५ जेठ २ को स्थायी, पोलिटव्युरो, केन्द्रीय कमिटी र त्यसकै निर्णयलाई मुख्य आधार बनाएर प्रस्ताव तयार पार्नुस्

काठमाडौं । एमालेका बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीसँग झुक्ने नीति नलिन आफ्नो पक्षका कार्यदल सदस्यहरुलाई निर्देशन गरेका छन् ।
जेठ २, २०७५ मै फर्किएर विवाद समाधानको खोजी गर्ने गरी कार्यादल गठन भएकोले त्यसमा दायाँवायाँ गर्ने गरी प्रधानमन्त्री ओली पक्षका नेताहरुसँग झुकेर प्रतिवेदन बनाउनु पर्छ भन्ने नसोच्न नेपालले कार्यदल सदस्यहरुलाई निर्देशन गरेका हुन् ।
एमालेमा विवाद मिलाउन प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका वीचमा प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफल पछि १० सदस्यीय कार्यादल गठन गर्ने र त्यसमा रहने नेताहरुको नाम छान्ने गरी सहमति जुटेको थियो ।
कार्यदलमा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त तथा ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । दुवै पक्षले एउटै नेतालाई कार्यदल संयोजक तोक्ने भन्दा पनि आ आफनो समुहका तर्फवाट संयोजक तोकेर काम शुरु गर्ने जिम्मेवारी दिएका छन् ।
ओलीसँग दिउँसो छलफलपछि कार्यदल गठन भएपछि नेता नेपालले आफु निकट नेताहरु र कार्यदल सदस्यहरुलाई राखेर जुममार्फत अडान नछोडी कार्यदलमा प्रस्तुत हुन निर्देशन गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
“२०७५ जेठ २ गतेको केन्द्रीय कमिटीलाई निर्णायक मानेर अघि बढ्नुपर्छ । फागुन २३ ९सर्वोच्च अदालतको फैसला०पछिका निर्णय खारेज गर्नुपर्छ,” नेपालको भनाई उदधृत गदै उपाध्यक्ष ज्ञवालीले भने, “पार्टी एकतापूर्वको स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी र त्यसकै निर्णयलाई मुख्य आधार बनाएर प्रस्ताव तयार पार्नुपर्छ । तलका संगठनहरू पनि पूर्ववत् स्थापित गर्नुपर्छ । पछि दुवै पक्षले जहाँ, जसरी कमिटी बनाएका छन्, ती सबैलाई विघटन गर्नुपर्छ । जिम्मेवारी नपाएका नेता–कार्यकर्ताहरूको कामको क्षेत्र तोक्नुपर्छ । जनसंगठन, निकाय, विभागहरू स्थापित गर्ने कुरा पनि त्यसैगरी जानुपर्छ । यसमा अडान नछोडनुहोला । ”
दुई महाधिवेशनको बीचका केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हुनेहुँदा त्यसको बैठक राखेर आवश्यक निर्णय लिनुपर्ने नै आफ्नो समूहको बटम लाइन रहेकाले त्यहीअनुरूप प्रस्तुत हुन नेता नेपालले कार्यदल सदस्यहरुलाई निर्देशन गरेको ज्ञवालीले बताए ।
विहिबार यता ओली र नेपाल वीचको छलफलले आज कार्यदल टुग्गो लगाएको हो । कार्यदलललाई नेपाल पक्षले बढीमा तीन दिनमा काम टुग्गो लगाउन भनेको छ । तर ओली पक्षले भने थप केही दिन पनि लाग्न सक्ने भएपनि काम गर्न भनेको छ ।
प्रतिक्रिया