शनिबार, फागुन ३०, २०८२

माधव नेपालप्रति ओलीको कडा टिप्पणी : नेता जब- बिक्छन, आन्दोलन सिध्याउन लाग्छन्

देउवा र प्रचण्डप्रति पनि प्रधानमन्त्रीको आक्रोश

मेरोन्यूज २०७८ जेठ ८ गते १६:१५
फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका माधव नेपाल समूह विपक्षीहरूसँग मिलेर जनविरोधी शक्तिहरूका हतियार बनेको आरोप लगाएका छन् । नेता नेपालको नाम उल्लेख नगरे पनि ओलीले नेपालप्रति संकेत गर्दै आफ्नो दलको सरकार गिराएर जोसँग प्रतिस्पर्धा गर्नु पर्ने हो उसलाई प्रधानमन्त्री बनाउन हिँडेर अनुशासनहिन काममा लागेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘पार्टीले निर्णय गरिरहनु पर्दैन, अनुशासन तोड्ने कामका सवालमा, हिजै मात्र देखिएको छ, आफ्नो दलको नेतृत्वमा बनेको सरकार गिराएर जोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, उसैसँग मिलेर जान खोजियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तोमा पार्टी निर्णय गरिरहनु पर्दैन, जब नेता बिक्छन, पतित हुन्छन, तब आन्दोलन सिध्याउन लाग्छन् ।’

बालुवाटारमा बुद्धिबहादुर रायमाझी प्रतिष्ठानले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालप्रति कडा टिप्पणी गरेका हुन् ।

‘विपक्षीसँग मिलेर, विरोधीसँग मिलेर नेपालभरि फिजिएको उज्यालोलाई निभाउने देशी-विदेशी, जनविरोधी प्रतिक्रियावादी शक्तिका हतियार भएर, तिनीहरूको सेवक भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनविरुद्ध लाग्ने प्रवृत्तिहरू देखिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘धोका र बेइमानी झाँसीका रानीका विरुद्ध मात्र होइन, राष्ट्रियताको रक्षामा लाग्दा झाँसीका रानीको विरुद्ध पनि आन्दोलन भएको थियो । मलेसियाको कम्युनिष्ट आन्दोलनलाई सिध्याएको थियो ।’

नेपालमा प्रतिकुल अवस्थामा पनि कम्युनिष्ट आन्दोलन झण्डै दुई तिहाईको अवस्थामा पुर्याइएको भन्दै प्रधानमन्त्रीले अहंकारमा कुदेर आन्दोलन समाप्त पार्ने काम भएको बताए । उनले अगाडि भने, ‘यतिमाथि पुर्याएको आन्दोलन, त्यसलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ । त्यसलाई फुटाइयो । अदालतलाई अपजस लगाइयो । अदालतभन्दा पहिले नै पार्टी फुटाइसकिएको थियो । अदालतले अर्काे नाममा दर्ता गर्न भनेको थियो । अर्काे नाममा दर्ता गर्न नगएर अहंकारमा कुदेर आन्दोलनलाई समाप्त पार्ने र प्रतिक्रियावादीको पाउमा आन्दोलानलाई चढाउने काम भयो । ’

ओलीले नेपाली कांग्रेसका सभापतिले राष्ट्रपतिलाई लक्षित गर्दै दिएको वक्तव्यमा आपत्ति जनाए । राष्ट्रपतिलाई तपाईसम्म भन्न नसकेर वक्तव्य दिएको भन्दै ओलीले कस्तो समाज बनाउन लागिपरेको भन्दै प्रश्न गरेका थिए ।

‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नु हुन्न भन्ने हामीलाई परेको छ । अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनु भएन । राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ । उहाँको वक्तव्य हेरे आजको मैले । यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउने गरेको आरोप त झन कुन स्तरको छ भन्ने कुरा जनताले थाहा पाइसकेको भन्दै ओलीले विगत १५ वर्षमा बोलेका कुरा र लगाएका आरोप नेपाली संस्कारसँग मेल नखाने बताए । ओलीले आफ्नो हात खुट्टा मात्रै होइन, पेटमा यताउता सबैतिर काटिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले विगतमा १४ वर्ष जेल बस्दाका समस्याले निस्केका रोगले हात खुट्टा र पेटमा अनेक रोग आएर चिरेको बताए ।

प्रतिक्रिया