नागढुंगा सुरुङ मार्गका ३२ कामदारमा कोरोना पुष्टि

काठमाडौँ । नाग ढुंगास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प)मा राखेर अरू नियमित काम गरिरहेको नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माण स्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”
नेपालमा दोस्रो भेरियन्टसहितको संक्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङ मार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो ।
उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।” क्याम्पभित्र संक्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माण स्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६ सयभन्दा बढी कार्यरत रहेकामा अहिले ३ सय जना मात्रै रहेका छन् । आधा कामदार निर्माण स्थल छाडिसकेको प्रमुख शाक्यले बताए ।
निर्माण स्थलमा कोरोना फैलिए निर्माण कार्य बन्द गरिने प्रमुख शाक्यले बताए । अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले भनाई थियो ।
अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई संक्रमणको शंका लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । उनका अनुसार निर्माणस्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ ।
संक्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङ मार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।
जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया