समाचार टिप्पणी
गणतन्त्रको १३ वर्ष : बाटो बिराउने सिलसिला

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसको अघिल्लो दिन देशबासीलाई सम्वोधन गदै एउटा गज्जवको तर्क अगाडी सारे,-‘आजको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिकमूल्यहीन र विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास नै गुम्ला कि भन्ने हो। जनविश्वास गुमेको प्रणाली फेरि जोखिममा पर्ला कि भन्ने हो।’
जनविश्वास गुमेको प्रणालीमाथी फेरि जोखिम ? उनको यो चिन्ता को प्रति लक्षित ? प्रधानमन्त्री भन्छन्,-‘सत्ताकै लागि अन्य पार्टीहरूमा विभाजन, विग्रह र विकृतिहरू पैदा गर्नु एवं त्यसकै बलमा आफू सफल भएको भ्रम पाल्नु आत्मरति मात्रै हो । तर मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय हुँदै होइन।’
आफुलाई दुधले नुहाएको झैं चोख्याएर अरुमाथी दोषारोपण गर्न खोज्ने उनको त्यो अभिब्यक्तिसँग जनमानस सहमत छैन । उनीमाथी आरोप छ-‘ लोकतान्त्रिक विधि, प्रक्रिया र जनप्रतिनिधिमूलक थलोलाई मासेर उनी आफ्नै अहम्को धारा प्रयोग गरेर जसरी पनि सरकारमा टाँसिरह्न चाहान्छन् । उनी आफु उभिएको ठाँउ मात्रै सही देख्छन्, कुर्सीका लागि जे पनि गर्छन् ।’
सत्ताका लागि अन्य पार्टीहरुमा विभाजन, विग्रह उनकै कारण देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) उनकै कारण विभाजनको मुखमा छ । स्वंम प्रधानमन्त्रीको नेतृत्वमा रहेको एमाले त्यही बाटोमा छ । उनले राजपा, एमाले, एकीकृत भईसकेको कम्युनिष्ट पार्टी नेकपा केही बाँकी राखेनन्, सबै उनकै अहंमा सकिए ।
माओवादीसँग गठबन्धन रहेन, एकता बनेन, उनको अल्पमत पनि सरकारका लागि टिकेन । संसद्को औचित्य उनी आफैले अर्काे राजनीतिक दलका नेतालाई प्रयोग गरेर प्रतिनिधिसभाभित्र कुनै विकल्प दिनै नसक्ने गरी पंगु बनाए । न चुनावका लागि दलहरुका वीचमा आम सहमतिको वातावरण बनाउन सके । न अरुलाई निश्पक्ष चुनाव हुन्छ भन्ने विश्वास नै दिलाउन सके ।
संविधानसभाबाट संविधान बनेको ५ बर्षमै संविधानभित्र भ्वाङ मात्रै पार्ने प्रयास भए । दुई पटक जनप्रतिनिधिमुलक सस्था नै विघटन गरियो । जनप्रतिनिधिमूलक थलोलाई मासेर अध्यादेशमार्फत शासन सञ्चालनको अभ्यास बढी गर्न खोजियो । आफ्ना कमजोरी ढाकछोप गर्ने र अरुलाई आक्षेप लगाउने प्रधानमन्त्री ओलीको शैली रोकिएको छैन ।
संविधान र ब्यवस्थाको रक्षक बनेर वस्नुपर्ने सस्थालाई नै समेत प्रधानमन्त्रीले आफ्नै कारण विवादमा तान्ने काम गरे । प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालय एकै होइनन् , संविधानतः यी फरक निकाय हुन् र तिनको कार्यव्यवहार पनि फरक हुन्छन् भन्ने कुरालाई प्रधानमन्त्री र राष्टपतिले ख्याल गर्न सकेनन् । ओलीको संकटका सारथी राष्टपति बन्न खोजिदिँदा प्रणालीमाथी नै जनविश्वास धरमराउँदो अवस्थामा लान खोजिदैछ ।
बास्तविकता यही हो, लेखिने तथ्य पनि यही हो ।
अहिले फेरि जनप्रतिनिधीमूलक सस्था विघटित छ । विघटित प्रतिनिधीसभा पूर्नस्थापनाको मुद्दा फेरि पनि अदालत पुगेको छ । अध्यादेशबाट मात्रै सरकार चल्न थालेको छ । संसद नभएको बेला अध्यादेशवाट पूर्ण बजेट ल्याइँइदै छ । संविधान कार्यान्वयन गर्नुपर्ने, गणतन्त्रलाई सस्थागत गदै जानुपर्ने निकायमा रहेका प्रधानमन्त्री र राष्टपतिकै कार्यब्यवहारले प्राप्त उपलब्धीलाई जोखिमतिर धकेल्ने प्रयास जारी छ । जसले यो संविधानलाई जारी हुनबाटै रोक्न हरसम्भव प्रयत्न गर्न खोजेको थियो । उसैसँगको साँठगाँठमा आएको संविधानलाई विफल तुल्याउने प्रयास बालुवाटारको खोपीभित्रैबाट बुन्न थालिएको देखिदैछ । दोषी ओला प्रधानमन्त्रीतिर नै सोज्जिएका छन् ।
माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन लगायतको बलमा संविधानसभाबाट संविधान निर्माण भएको हो । त्यही वलमा संविधानसभाको पहिलो बैठक (२०६५ जेष्ठ १५) ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो । संघीयता, गणतन्त्र, समावेशितासहितका मान्यता संस्थागत हुनुका साथै संविधानमा थप अधिकारहरू समावेश गर्ने काम यो वीचमा भएका थिए । तर, योे १३ वर्षमा ‘विगतमा राजाकै जस्ता सवारीसहितका गतिविधि, ९० प्रतिशत भन्दा वढी जनताका जनप्रतिनिधीको वनरसिपमा निर्माण भएको संविधानको धारा-धारामा प्वाल पार्न खोज्ने प्रवृतिले प्राप्त उपलब्धी जोखिममा छ ।
यसका लागि ‘आई एम अ स्टेट’ भन्ने प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति मुख्य जिम्मेवार छ । अन्य राजनीतिक दलका शीर्ष नेतापनि त्यसपछि सोपनाक्रमका दोषी हुन् । ओलीमाथी उनका अहिलेको गतिविधि र पहिलेका अभिब्यक्तिका कारण कतै ब्यवस्थानै भड्खालोमा हाल्ने पो हुन् की भन्ने आशंका छ । २०६२ साउनमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तत्कालीन महासचिव माधवकुमार नेपालले गणतन्त्रमा जाने प्रस्ताव गरेका थिए । त्यसै बेला ओलीले गणतन्त्र ल्याउन सकिन्छ भन्नु र बयलगाढा चढेर अमेरिका जान्छु भन्नु उस्तै–उस्तै हो भनी टिप्पणी गरेका थिए ।
अहिले पनि ओलीले त्यही प्रश्नको जवाफ बेलाबेला दिईरहनु परेको छ । उनको कार्यब्यवहारले प्रश्न थप पेचिलो रुपमा उठेको छ । राजतन्त्र फालेर गणतन्त्र ल्याउँदै गर्दा नागरिकसँग नेताहरूले थुप्रै सपना र आकांक्षा बाँडेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले पनि दुःख पाउँदैनन् भनेर भनिएको थियो, तर अवस्था त्यस्तो रहेन । कतिपयले अहिले भन्न थालेका छन्,-‘राजाका ठाउँमा राष्ट्रपतिको प्रतिस्थापन भयो तर आवरणमा हेर्दा त लुगा पनि फेरिएको छैन । राजनीतिज्ञको सोच बीसौं वर्षदेखि फेरिएकै छैन ।’
दुई तिहाई सरकार, नेकपा विभाजन, प्रधानमन्त्री र राष्टपतिको साँठगाँठमा संविधानको धारा ७६ को सवै उपधाराको ’आफुअनुकुल प्रयोग’ ले बाटो विराउने सिलसिला शुरु भईसकेको छ । दलकै नेताहरुले ब्यवस्थानै असफल पार्ने बाटोमा राष्ट्रपति र प्रधानमन्त्रीको गलत शैली जिम्मेबार रहँदै गएको टिप्पणी शुरु गरिसकेका छन् । तर अझै विग्रिएको केही छैन । संविधानलाई ट्याक्रमा ल्याउने, जनप्रतिनिधीमूलक सस्थालाई विश्वासमा लिने र संविधानले निर्देश गरेका कार्यब्यवहार तदनुरुप मात्रै गर्ने हो भने संविधानको रक्षा हुन सक्छ । गणतन्त्र सस्थागत भएर जान सक्नेछ । लडखडाउँदै गरेको ब्यवस्था लाई फेरि पनि ट्याकमा ल्याउन यसलाई हाक्ने जिम्मेवारी पाएका नेताहरुले सार्थक थालनी गर्नुपर्ने हुन्छ । भीरको डिलमा जान खोजेको गाडीलाई ‘ब्याक ’ गराउन सकिन्छ । तर ‘डाइभर’ ले ब्याक गर्ने हिक्मत गर्नुपर्छ । जसले स्वामित्व लिनुपर्ने हो, उसैले प्वाल पार्न खोजेपछि संकट आउन खोजेको हो । तर त्यसलाई सम्हाल्ने प्रयास स्वामित्वकर्ताहरुले नै लिनुपर्छ ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।










मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया