आइतबार, फागुन १०, २०८२

संक्रमण दर बढेपछि अफगानिस्तानमा विद्यालय बन्द

मेरोन्यूज २०७८ जेठ १५ गते १२:४०

काठमाडौँ । कोभिड–१९ संक्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय अफगानिस्तान सरकारले गरेको छ । कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोभिड–१९ नियन्त्रणका लागि काबुल, गजनी, हेलमण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुंदलगायतका क्षेत्रमा सरकारी तथा निजी विद्यालयहरू, विश्वविद्यालयहरू र तालिम केन्द्रहरू बन्द गरिएको हो । मन्त्रालयका अनुसार गत वर्ष कोभिड–१९ को पहिलो लहर आउँदा एक दिनमा सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेको सङ्ख्या ९१५ रहेकोमा दोस्रो लहरबाट शुक्रबार ९७७ जना संक्रमित भएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको बताइएको छ ।

सरकारले २४ घण्टाको अन्तरालमा तीन हजार ८०० नमूनामा कोभिड–१९ परीक्षण गर्दा ९७७ जना संक्रमित भेटिएको हो । उक्त अवधिमा कोभिड–१९ संक्रमण पुष्टि भएका १८ व्यक्तिको मृत्यु भएको र १५७ जना निको भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार अफगानिस्तानमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या ७० हजार १०७ पुगेको छ भने दुई हजार ८९९ संक्रमितको मृत्यु भएको छ । यहाँ कोभिड–१९ संक्रमण भई निको हुनेको संख्या ५७ हजार ११९ रहेको बताइएको छ ।

प्रतिक्रिया