आइतबार, वैशाख ७, २०८२

विकासले फेरियो जीवनः बटौलीको नुन र चितवनको चामल आँगनमै

मेरोन्यूज २०७८ जेठ १९ गते ७:२५

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षका भए । उमेरले आठ दशक पार गरेपनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन् ।

आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो देखिन्छन् । उनले जीवनका अधिकांश समय गाईभैंसी र भेडाबाख्राको गोठालो गरेरै बिताए ।

उनीसँग जीवनमा भोगेका अनेकौं अनुवभ छन् । उतिबेला दलबहादुरले भोगेका कैयौं अनुभव अहिले आफैंलाई नौलो लाग्छन् । उनले भोगेका सयौं अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उनी कहिल्यै भुल्न सक्दैनन् ।

पन्ध्र दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनको मानसपटलमा अझै ताजै छ । उनले यो दुःख चाहेर पनि भुल्न सक्दैनन् । दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ ।

विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौं संघर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उनले कहिल्लै कल्पना गरेका थिएनन् तर अहिले गाउँघरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा छन्त्याल दङ्ग छन् ।

छन्त्याल मात्रै होइन गाउँमै सडक, गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधाहरु पुगेपछि यहाँको बासिन्दाको खुसीको सीमा नै छैन ।

सडक बनेर गाडीमार्फत बुटबल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका वृद्धवृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा बल्ल महसुस गर्न पाएका छन् ।

गत फागुनमा दग्नामको अक्करे भीरलाई फोरेर दर्मिजा, चिमखोला र कुइनेमङ्गलेसम्म गाडी पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसीयाली छाएको हो ।

“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिइनँ, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौं, अहिले बिजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ”, कुइनेमङ्गलेका अर्का वृद्ध फबहादुर छन्त्यालले मुस्कुराउँदै भने, “बटौलीमा गाडी देख्दा डराउँथ्यौं, अहिले त के को डराउनु अल्ली तल जानु पर्‍यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौं टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई/चार पाइला हिँड्न पनि गाह्रो लाग्छ ।”

उनले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न एक साता लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको बताए ।

“कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपर्थ्यो, यहाँबाट हिँडेर बेनी पुग्दा दुई दिन, फर्किँदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो”, छन्त्यालले भने, “अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?”

उनले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताए ।

“पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, छन्त्यालले भने “अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

छन्त्यालले आफूले गाईभैंसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको बिँडो नथाम्ने चिन्ता व्यक्त गरे । “मैले जन्मेको पाँच/छ वर्षदेखिनै गाईभैंसीको गोठालो गर्न थालेको हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिने बित्तिकै पढ्न जान्छन्”, उनले भने, “यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैंसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछिपछि त यो गाईभैंसी भन्ने पनि पाइँदैन कि क्या हो ।”

गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन् ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसँगको साझेदारीमा सडकको ट्र्याक खुलेको हो ।

विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताए ।

यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् ।

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवर्दन गर्न समेत सडकले सघाउने बताए ।

आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा १८ करोड रुपैयाँभन्दा बढी बजेट खर्च भएको रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। (रासस)

प्रतिक्रिया