सोमबार, चैत ९, २०८२

जिल्लाका पदाधिकारीलाई माधव नेपालको निर्देशन

ओली सच्चिदैनन्, टोलैसम्म समानान्तर संगठन बनाउनु होस्

नेपाल समुहको स्थायी समितिको बैठक जारी, सामुहिक वक्तब्य दिने तयारी

मेरोन्यूज २०७८ जेठ २२ गते १६:१२

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपालले एमालेभित्रको विवाद मिलाउन वार्ता गरे पनि बालुवाटारको बालुवा पेलेर तेल निस्कन नसक्ने बताएका छन् । आफू निकटका समानान्तर जिल्ला कमिटीका पदाधिकारीहरूसँग शनिबार भर्चुअल अर्न्तक्रिया गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री केपी ओलीसँग झुकेर वार्ता गर्ने र आत्मसमर्पण गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ओलीले वार्ताका नाममा अलमलाउने खेती मात्र गरिरहेको र कम्तीमा आफूलाई भने ओली अब सच्चिएर आउँछन भन्ने नलागेको बताएका हुन् । यद्यपि, उनले पार्टीको केन्द्रीय सदस्यहरूले दिएको सुझावका आधारमा स्थायी समिति बैठक बसेर आफ्नो विचार समूहको ठोस धारणा अगाडि सार्ने र सार्वजनिक गर्ने बताएका छन् ।

जिल्लाका पदाधिकारीहरूसँगको छलफलपछि अहिले नेता नेपाल समूहको स्थायी समितिको बैठक बसिरहेको छ । बैठकपछि यो समूहले सामूहिक रुपमा एउटा वक्तब्य दिने तयारी गरेको छ ।

‘उहाँ (माधव कमरेड)ले हामीसँग सुझाव माग्नुभयो, उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विफ्रिङ गर्नुभयो,’ नेपाल समूहका एक जिल्ला अध्यक्षले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने, ‘अहिले हामीसँगको छलफलपछि माधव कमरेड र अरु स्थायी समितिका कमरेडहरू बैठकमा बस्नु भएको छ । बैठकपछि केन्द्रीय समितिको बिहीबार र शुक्रबार बसेको बैठकपछिको धारणा प्रेस वक्तब्य दिएर सार्वजनिक गर्नुहुन्छ ।’

जिल्लाका पदाधिकारीहरूसँग भने नेता नेपाल मात्रै भर्चुअल बैठकमा सहभागी थिए । भर्चुअल बैठकमा २०३ जना सहभागी थिए । जसमध्ये शनिबार ३० जना जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझावसहितको धारणा राखेका छन् । नेपाल समूहका ती जिल्ला अध्यक्षले भने, ‘अधिकांश जिल्ला पदाधिकारीहरूले सुझाव दिने क्रममा वार्ता सँगसँगै नयाँ पार्टी पुनर्गठनलाई पनि सँगसँगै अगाडि लैजानु पर्ने सुझाव दिनुभएको छ ।’

नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको र अहिले पनि वार्ताका नाममा झुक्याउने प्रयासमा लागेकाले आफूलाई अब ओली सच्चिएर आउलान् भन्ने नै लाग्न छोडेको बताएका थिए । यद्यपि, नेता नेपालले जिल्लाका पदाधिकारीहरूको सुझावकै आधारमा आफू अगाडि बढ्ने र त्यसका लागि खुलस्त सुझाव दिन जिल्लाका नेताहरुलाई आग्रह गरेका थिए ।

ओलीले एमालेभित्रको विवाद मिलाउन सर्वाेच्च अदालतमा नेपालसहितका नेपाल पक्षका नेताले हस्ताक्षर गरी दर्ता गरेको रिटबाट नाम फिर्ता लिन गरेको आग्रह स्वीकार्य हुन नसक्ने नेता नेपालको भनाई थियो । उनले संसद भंग गरेर ओलीले प्रतिगमन भाग दुई चालेको बताएका थिए । उनले ओलीले मन्त्री मण्डल पुनर्गठन गर्दा नै भारतसँगको सम्बन्ध कुन हदमा लैजान चाहेको भन्ने प्रमाणित भएको पनि बताएका थिए ।
‘तपाईहरूले देखिहाल्नुभएको छ, ओलीले कस्ता मान्छेलाई समेटेर मन्त्री मण्डल बनाएका छन्, यसले पनि देखाउँछ, ओली भारतसँगको भक्तिभावमा कति सम्म लागेका छन भन्ने,’ नेता नेपालले भनेका थिए ।

नेपालले अब वार्ताका नाममा धेरै समय अल्झिनेतिर जान नहुने भन्दै एउटा स्टेप चाल्नै पर्ने अवस्थामा आफूहरू आइपुगेको पनि बताएको ती नेताले बताए ।

नेपालले भने, ‘माझीहरूको सल्लाहले डुंगा पल्टेजस्तै नहोस् । मरिसकेपछि डाक्टर बोलाउनुको कुनै अर्थ हुन्न । अब के गर्ने छिटो गर्नुपर्छ ।’
नेता नेपालले समानान्तर संरचना गाउ र टोलसम्मै विस्तार गरेर लाग्न पनि निर्देशन दिएका थिए । ‘ओलीसँग मिल्ने देखिन्न, हामीले विद्रोहको विगुल फुकिसकेका छौँ, तपाईहरूले गाउँ टोलसम्मै समानान्तर संरचना घनीभूत रुपमा बनाउनुस्,’ नेपालले भने ।

प्रतिक्रिया