नेपाल समूहको चिन्ताः निर्वाचन र संगठनमा हाम्रो स्थान कहाँ रहन्छ ?

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठनका लागि गृहकार्य शुरु गरिरहेका बेला समूहभित्रै दुई थरी मत भएपछि उनी अलमलमा परेका छन् । आफूलाई नेपालको किचन क्याविनेट भन्न रुचाउने र कार्यकर्ता माझ प्रभाव देखाउने समूहबीच मत बाझिएपछि नेपाल अलमलमा परेका हुन् ।
स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य जिल्ला तहका पदाधिकारी र सदस्यहरुको धारणा फरक फरक आएका छन् । अझै छलफल टुग्गिएको छैन । हिजो बाट शुरु समानान्तर जिल्ला कमिटिका पदाधिकारीहरुसँगको छलफल आज पनि जारी रह्नेछ । गत आइतबारदेखि एक हप्तासम्म लगातार गरिएको छलफलमा धेरै कोणबाट कुरा आएपनि उनीहरुले अन्तिममा एमालेमै रहँदा पार्टी संगठन र भोली आउने सबै तहको निर्वाचनमा माधव नेपाल समूहको स्थान कहाँ रहने भन्ने चिन्ता नै प्रमुख रुपमा उठाएका छन् ।
जिल्ला कमिटीका धेरै जसो पदाधिकारीहरुले पार्टी विभाजन भए निर्वाचनमा पराजय हुने तर पार्टी सग्लो भए निर्वाचनमा टिकटको अवस्था माधव नेपाल समुहको के हुने ? भन्ने प्रश्न पनि उठाएका छन् ।
अहिले पनि धेरै स्थानमा पार्टीको हैसियत बलियो नै रहेको भन्दैं नेतृत्वले आफ्नो पुरानो हैसियत कायम हुनेगरी संवाद गर्न र त्यसो नभए अर्को विपक्षी दलसँग मिलेर भएपनि निर्वाचनमा जाने वातावरणमा लागि नयाँ दल खोल्नुपर्ने सुझाव दिएका छन् । अधिकांश केन्द्रीय सदस्यहरुको धारणामा जिल्ला अध्यक्षहरु सहमत रहेको स्रोतको दावी छ ।
‘हामीले आत्मसर्मपण गरेर विवाद मिलाउनु पर्छ भनेको छैन । स्वाभिमान कायम गरेर विवाद मिलऔ त्यसो गर्दा सबैतह र तप्काको समान हैसियत बन्छ पार्टीभित्र काम गर्ने वातावरण बन्छ भनेका छौ, एकले अर्कालाई पेलेर जाँदा कही पुगिदैन भन्ने धारणा केन्द्रीय कमिटीको बैठकमा आएको छ’, केन्द्रीय सदस्य निरज आचार्यले भने ।
उनका अनुसार अधिकांश केन्द्रीय सदस्यहरुले मिलेरै जाने धारणा राखेको छन् । ‘मूलकुरा तीन तहको निर्वाचन हो भोलीका दिनमा ओलीसँगै मिल्दा पनि पेल्ने निश्चित छ भने अहिले नै बाटो तताउनु राम्रो हुन्छ हैन भने आफ्नो हैसियतलाई कायम राखेर मिल्दा सबैले जित्ने वातारण हुन्छ, ओली पक्षले पनि निर्वाचन जित्छन हामीले पनि निर्वाचन जित्ने संभावना हुन्छ’, नेपाल पक्षका एक जिल्ला अध्यक्षले भने ।
उनका अनुसार आत्मसम्मान भनेको निर्वाचनमा सम्मानजनक भाग लिने अवस्था नै हो । विगतको निर्वाचनमा एमालले जित्ने तर माधव नेपाल समूहका उम्मेदवार हुने स्थानमा ओलीले माओवादीलाई टिकट दिएर नेपाल समूहलाई पेलेको दृष्टान्त भएकाले पनि अहिले यो कोणबाट नेताहरुले आफ्ना धारणा राखेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपालले आफ्नो समूह निकट रहेका जिल्ला कमिटीका अध्यक्षसहित पदाधिकारीहरुको बैठकमा ओलीले बार्ताको नाटक गरेर अल्मल्याउन मात्रै खोजेको बताएका थिए । एमालेभित्रको आन्तरिक विवाद मिलाउन ओलीले इमानदार प्रयत्न नगरेकाले बालुवाटारको बालुवा पेलेर तेल निस्कन नसक्ने जनाउदै ओलीले अल्मल्याउन खोजेको बताएको थिए । नेता नेपालले तल्लो तहसम्म नै आफूले सबैलाई व्यवस्थापन गर्ने जनाएका थिए । प्रधानमन्त्री केपी ओलीसँग झुकेर वार्ता गर्ने र आत्मसमर्पण गर्ने पक्षमा आफू नरहेको भन्दै नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको र अहिले पनि वार्ताका नाममा झुक्याउने प्रयासमा लागेकाले आफूलाई अब ओली सच्चिएर आउलान् भन्ने नै लाग्न छोडेको तर पनि साथीहरुले प्रयासचाहि गरिरहेको बताएका थिए ।
समानान्तर रुपमा कमिटीहरु गठन गर्दे गएका नेपालले एक सातामा जनवर्गीय संगठनका प्रमुखहरु, पेशागत महासंघका पदाधिकारी, मजदुरका नेताहरु, प्रदेश कमिटीका सदस्यहरु, एमालेकै पूर्व नेताहरु, एमालेकै शुभचिन्तकहरु तथा, केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।
छलफलको क्रममा नेता नेपालले सुझावकै आधारमा आफू अगाडि बढ्ने र त्यसका लागि खुलस्त सुझाव दिन जिल्लाका नेताहरुलाई आग्रह गरेका थिए । ‘ओलीले वार्ताका नाममा अलमलाउने खेती मात्र गरिरहेका छन् कम्तीमा आफूलाई भने ओली अब सच्चिएर आउँछन भन्ने लागेको छैन’, नेता नेपालले सबैजसो बैठकमा एउटै धारणा राखेका थिए ।
नेपालले समानान्तर कमिटीका पदाधिकारी र आफ्नो समूहका नेताहरुसँग छलफल जारी राख्दा ओलीले आफू २०७५ जेठ २ अगाडीको अवस्थामा फर्कन तयार रहेको, स्थायी कमिटीको बैठक राख्न पनि तयार रहेको तर त्यसका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका थिए । सो भनाई प्रति नेताले नेपालले एमालेभित्रको विवाद मिलाउन सर्वाेच्च अदालतमा नेपालसहितका नेपाल पक्षका नेताले हस्ताक्षर गरी दर्ता गरेको रिटबाट नाम फिर्ता लिन ओलीले गरेको आग्रह स्वीकार्य नहुने बताएका थिए ।
अहिलेपनि ओली पक्षका नेताहरु र नेपाल पक्षका नेताहरुबीच अनौपचारिक रुपमा छलफल जारी भएपनि नेपाल पक्षका चार नेताहरु जगन्नाथ खतिवडा,विजय पौडेल, राजेन्द्र राई, प्रकाश ज्वालाले केन्द्रीय कमिटीको भर्चुअल बैठकमा ओलीसँग बस्न नसकिने आशयको प्रतिवेदन पेश गरेका थिए । उनीहरु स्पष्ट रुपमै नयाँ दल बनाउनु पर्ने प्रस्ताव गरेका हुन् ।
यो सम्बन्धमा नेता राइले आत्मसम्मान बन्धकी राखेर ओलीसँगको सहकार्य कठिन हुने धारणा राखेका छन् । ‘ओलीजीहरु २०७५ जेठ २ को अवस्थामा फर्कने अवस्था छैन हामी आत्सम्मान बन्धकी राख्न सक्दैनौ’, नेता राईले भने । गत २०७४को निर्वाचनमा उनीहरुलाई ओलीले कोपभाजनमा पारेका थिए ।
प्रतिवेदन पेश गर्ने मध्ये खतिवडाले टिकट पाएका थिएनन भने राइले कार्यकर्ताको चर्को विरोधपछि प्रदेश सभाको टिकट पाएका थिए । ज्वालालाई मूख्यमन्त्री बनाउने भनेर टिकट दिइएको भएपनि यमलाल कँडेललाई अघि सारेर भाँजो हालिएको थियो । पौडेललाई समानुपातिक सांसद दिन्छु भने पनि उनले समानुपातिक सांसद पाएका थिएनन ।
प्रतिक्रिया