शनिबार, पुष २६, २०८२

प्रदेश २ को मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर

मेरोन्यूज २०७८ जेठ २४ गते १०:२७

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर राजेन्द्र महतो खेमाका मन्त्री हटाएसँगै मन्त्रीमण्डलमा जिम्मेवारी हेरफेर भएको छ ।

मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख राजेश झा अहिराजले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधान बमोजिम हेरफेर र कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदको कार्यालय सहित भौतिक पूर्वाधार मनत्रालयको जिम्मेवारी सम्हालेका छन् ।

विजय कुमार यादवले आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवले आन्तरिक मामिला तथा कानून मन्त्रालय, शैलेन्द्र साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किशोर साह सुडीले सामाजिक विकास मन्त्रालय र राम नरेश रायले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै सरोज सिंह, योगेन्द्र राय यादव र उषा यादवलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री राउतले हिजो आइतबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पदमुक्त गरेका थिए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पूर्व राजपाको भएपनि उनीहरु पछिल्लो समयमा उपेन्द्र यादव समूहतिर लाग्दा उनीहरुको पद जोगिएको हो ।

जसपाको उपेन्द्र पक्षले आइतबारै वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई नेता चयन गर्न उपेन्द्र खेमाका ३० जना र पूर्व राजपाका ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राजेन्द्र महतो समूह संघीय सरकारमा गएपछि उपेन्द्र समूहले प्रदेश २ सरकारबाट उनी निकटका मन्त्रीलाई हटाएको हो । अब प्रदेशमा कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने राजपाको योजना छ ।

प्रतिक्रिया