निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा

काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्रप्त हुने आवास व्यवस्थापन लगायतको कुनै पनि आर्थिक सुविधा नलिएको बताएका छन् ।
२०७६ मंसीर ४ देखि २०७८ जेठ २१ गतेसम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका मानन्धरले आवासीय सुविधा नलीएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको ४० हजारका दरले राज्यमन्त्रीका रुपमा बहाल रहेको १८ महिना सम्मको ७ लाख २० हजार रुपैयाँ नलिएको जानकारी दिएका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै निवर्तमान सहरी विकास राज्यमन्त्री मानन्धरले कार्यालय व्यवस्थापनका सुविधा अन्तरगत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषमा नै रहेको जानकारी दिए । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाइसकेको मानन्धरले बताए ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा गर्ने अभियानमा राज्यमन्त्री पदको हैसियतमा रहि जनआकांक्षा पूरा गर्न आफु निरन्तर लागेको पनि मानन्धरले दाबी गरेका छन् ।
जनताको विकासको तिब्र चाहना पुरा गर्नका लागि पारदर्शीरुपमा कार्य गरेको बताउँदै एमाले नेता मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आफ्नो चल/अचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको बताए ।
काठमाडौं क्षेत्र नम्वर ७ बाट निर्वाचित पूर्वसांसद मानन्धरले २०७० साल देखिनै निरन्तर रुपमा पार्टीको क्षेत्रीय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडा सहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी समेत दिएका छन् ।
समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियान पुरा गर्न प्रधानमन्त्री ओलीले आफुलाई विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारी दिएको भन्दै मानन्धरले जनताको विकासको चाहना पुरा गर्ने अभियानमा निरन्तर लागिरहने बताएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनुपरेपनि पार्टीको नैतिकवान र ईमान्दार कार्यकर्ताका हैसियतले आफु सधैं जनताको घर दैलोमै रहने प्रतिवद्वता जनाउँदै नेता मानन्धरले सरकारको समृद्धिको अभियानमा बाहिरबाटै सहयोग गरिरहने बताएका छन् ।
प्रतिक्रिया