शनिबार, चैत २१, २०८२

निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय र जिल्ला प्रशासनबीच छलफल

मेरोन्यूज २०७८ जेठ २४ गते १८:०६

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न देशभर जारी गरेको निषेधाज्ञा खुकुलो गराउने विषयमा छलफल सुरु भएको छ । निषेधाज्ञाको मोडालिटी हेरफेर गृह मन्त्रालय विभिन्न मन्त्रालयका साथै सबै जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

निषेधाज्ञालाई खुकुलो बनाएर नागरिकको दैनिक जीवनयापन सहज बनाउने विषयमा गृह मन्त्रालय छलफलमा जुटेको हो । कोभिडको दोस्रो लहर फैलिएसँगै बाँकेमा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।

यस्तै, उपत्यकामा गत १६ वैशाखबाट निषेधाज्ञा जारी गरिएको थियो । काठमाडौँ उपत्यकामा जेठ महिनाभरि निषेधाज्ञा लागु हुने भएको छ । अहिलेसम्म देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी रहेको छ ।

गृह मन्त्रालयका अनुसार खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरी निषेधाज्ञा खुकुलो हुने भएको हो । यस विषयमा मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयसँग जिल्लाको वस्तुस्थिति र जोखिमबारे बुझ्ने काम भइरहेको छ ।

‘जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रसम्बन्धी आवागमनमा सहजीकरण गरेर निषेधाज्ञाको मोडालिटीमा हेरफेर गर्नु पर्ने देखिएको छ,’ मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ‘धेरैजसो जिल्लामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ, त्यसपछिको केही परिवर्तन हुन सक्छ ।’

उपत्यकामा एक साता खाद्य पसलसमेत बन्द गरिएको थियो । जसलाई गत शुक्रबारदेखि बिहान ९ बजेसम्म खुला हुन दिने आदेश भइसकेको छ । यस्तै, राति ९ बजेदेखि रातभर वर्कसप तथा निर्माण सामाग्री ढुवानीका सवारी साधान सञ्चालन गर्न सकिने जनाएको थियो ।

सरकारले शहरी क्षेत्रमा संक्रिय संक्रमित ५ सय जना र ग्रामीण क्षेत्रमा संक्रिय संक्रमित २ सय पुगे स्थानीय तह तथा प्रशासनले नै निषेधाज्ञाको निर्णय लिन सक्ने व्यवस्था गरिएको छ । यसबाहेक गृह मन्त्रालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न लागेको हो ।

प्रतिक्रिया