ओलीकाे प्रस्तावले विपक्षी दलभित्र परकम्प
प्रचण्ड र नेपालले देउवालाई आश्वस्त पार्दै भने- सर्वाेच्चमा बुझाइएकाे हस्ताक्षर फिर्ता हुँदैन
देउवा, दाहाल र नेपालबीच प्रदेश सरकारका विषयमा पनि गठबन्धन गर्ने कसरत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टीभित्रकाे विवाद मिलाउन आफू तयार रहेको भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारे । ओलीको प्रस्तावले एकैपटक तीन तिर तरंग ल्यायाे । ओलीकाे प्रस्तावबाट एमालेभित्रकै माधव नेपाल समूह अलिक बढी तरंगित छ भने ओलीको प्रस्तावले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)भित्र पनि पराकम्प गएकाे छ ।
नेता नेपालसहित उनी पक्षका नेतालाई धमाधम कारवाही गरेर अगाडि बढेका ओलीकाे आर्श्चयजनक प्रस्तावले नेपाल समूह झस्केकाे छ । यद्यपि नेपाल समूहले ओलीकाे प्रस्ताव पार्टी एकताका लागि नभएकाे निष्कर्ष निकालेकाे छ । ओलीले नेपालसँगकाे एकताका लागि गरेको प्रस्तावको चौथो नम्बरको बुँदाले कांग्रेस र माओवादीभित्र खैलाबैला मच्चिएकाे छ । अब माधव नेपालले के गर्लान् ? नेपाल समूहभित्र के होला ?
‘हुन त त्यो एमालेभित्रको आन्तरिक राजनीतिको विषय थियो, तर ओलीको वक्तव्यले हामी र कांग्रेसभित्र पनि एउटा खालको तरंग ल्याइदियो, के माधव नेपालहरुले अब चटक्कै सबै मुद्दा छाडेर ओलीसँग एकतामा जालान् ?’ माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँगको कुराकानीमा भने, ‘यो एमाले मिल्ने/नमिल्ने विषयसँग मात्र सम्बन्धित थिएन, ओलीको एकपछि अर्को प्रतिगमन र त्यसकाविरुद्ध डटेर कसरी संविधान र व्यवस्थासम्मको रक्षा गर्ने भन्ने प्रश्न थियो, त्यसकारण चासो हुनु स्वभाविक थियो ।’
एमालेको माधव नेपाल समूहका २३ सांसद ओलीको प्रतिनिधिसभा विघटनको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा कांग्रेस र माओवादीसँगै मोर्चाबन्दीमा थिए । अदालतमा संसद्को बहुमत सदस्य सशरीर उपस्थित भएर सनाखत गर्नुले कांग्रेस, माओवादी र जसपासहितको गठबन्धनले सर्वोच्चमा दर्ता गरेको रिटलाई बलियो बनाएको थियो ।
साेही प्रकरणपछि अत्तालिएका ओलीले हस्ताक्षर फिर्ता लिन भनेपछि नेपाल पक्षले अडान छोड्लान् या नछोड्लान ? भन्ने विषयमा विपक्षी गठबन्धनमा द्विपक्षीय तथा बहुपक्षीय छलफलले तीव्रता पाएकाे छ ।
‘प्रचण्ड कमरेड ओलीको भूलभूलैयामा लागेर माधव कमरेडले सबै मुद्दा चटक्कै छाडेर मिल्न पुगहाल्लान् भन्नेमा त्यक्ति धेरै विश्वास गरिहाल्नु हुन्न, तर कांग्रेस सभापति देउवा के हो के ? भन्ने शंकामा रहेको देखियो,’ माओवादी केन्द्रका ती नेताले भने, ‘त्यसपछि नै आज नेताहरुको देउवा निवासमा बाक्लो दौडधुप चलेको हो ।’
देउवाले प्रचण्डलाई बिहानै माधव नेपालहरुले के गर्लान् ? अब ओलीसँगै मिल्लान् ? भन्दै जिज्ञासा राखेको स्रोत बताउँछ । त्यसपछि प्रचण्डले नेपाल पक्षको धारणा कुरौं न भन्ने जवाफ दिएका थिए । देउवाले नै प्रश्न गरेपछि प्रचण्ड बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल समूहको स्थायी समितिको बैठक बस्नु अगाडि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए ।
‘झण्डै आधा घण्टा जति उहाँहरुका बीचमा ओलीले दिएको वक्तव्य, सर्वोच्चमा रहेको आफुहरुको मुद्दा, प्रदेश सरकारलगायत विषयमा केन्द्रित रहेर छलफल भयो,’ ती माओवादी नेता भन्छन्, ‘त्यसपछि उहाँ (प्रचण्ड) देउवा भेट्न बूढानीलकण्ठ पुग्नुभएको हो ।’ देउवा र प्रचण्डबीचको छलफलमा नेपाल समूहले लिन सक्ने निर्णयका बारेमा छलफल भएकाे थियाे ।
दुई नेताहरूबीच प्रदेश सरकारमा कसरी मोर्चाबन्दी गर्ने भन्नेमा विषयमा पनि छलफल भएकाे थियाे । प्रचण्डले नेपालसँगको छलफलका आधारमा तीन नेता नेपाल समूहको स्थायी समिति बैठक सकेपछि फेरि बसाैँ भनेर बूढानीलकण्ठबाट निस्केका थिए ।
नेपाल समूहले सर्वोच्चमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्तसहित ओलीसँग एकता हुन नसक्ने र प्रस्तावका कतिपय बुँदा अस्पष्ट रहेको निष्कर्ष निकालेकाे थियाे । बैठक सकेर नेता नेपाल कोटेश्वरबाट बूढानीलकण्ठ कुदे । नेपाल पुगेको १५ मिनेटपछि प्रचण्ड पनि फेरि दाेहाेर्याएर देउवा निवास पुगेका छन् ।
माधव नेपाल र प्रचण्ड दुवै नेताले अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने आश्वासन देउवालाई दिएका स्राेतकाे दाबी छ ।
राष्ट्रियसभाकाे उपनिर्वाचनदेखि ओलीका विरुद्ध माेर्चाबन्दीमा उत्रिएका तीन शीर्ष नेताबीच बूढानीलकण्ठमा प्रदेश सरकारका विषयमा पनि छलफल भएकाे छ । प्रदेश २ मा जसपाका उपेन्द्र पक्षका नेता लालबाबु राउत मुख्यमन्त्री छन् । उनले जसपाकै महन्थ पक्षका ४ नेतालाई बर्खास्त गरेर कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।
गण्डकीमा एमालेकै ओली पक्षका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् । उनले यही जेठ २८ भित्रै विश्वासको मत लिनुपर्ने अवस्था छ । त्यस्तै, सदुरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदै छन् ।
‘प्रदेश सरकारका विषयमा के गर्ने भन्नेमा केन्द्रित रहेर छलफल उहाँहरुले गर्नुभयो,’ माओवादी केन्द्रका ती नेताले भने, ‘ केन्द्रदेखि प्रदेशसम्मको गठबन्धन कसरी बलियो बनाउने भन्नेमै उहाँबीच छलफल भएको छ । अहिले गठबन्धनमा कुनै समस्या छैन । अझ यसलाई बलियो बनाउने विषयमा उहाँहरु सहमत हुनुहुन्छ ।’
प्रतिक्रिया