मंगलबार, जेठ ६, २०८२

मुख्यमन्त्रीकाे विपक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम प्रदेशकाे निर्देशन

मेरोन्यूज २०७८ जेठ २४ गते २०:३५

काठामडाैं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलाेचन भट्टकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेश संसदीय बाेर्डलाई निर्देशन दिएकाे छ ।

प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आज संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई उक्त निर्देशन दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासकाे मत लिँदै छन् । प्रदेश सरकारलाई दिएकाे समथर्न फिर्ता लिँदै सरकारबाट फिर्ता हुन पार्टी केन्द्रले दिएकाे निर्देशन लत्याउँदै प्रदेश संसदीय बाेर्डले मुख्यमन्त्रीलाई समर्थन कायम राख्ने निर्णय गरेकाे थियाे ।

अहिले सुदूरपश्चिम सरकारमा एमालेकाे माधवकुमार नेपाल पक्षका सांसद मन्त्री बनेका छन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ सांसदमध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे उनले विश्वासकाे मत प्राप्त गर्नेछन् ।

कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

प्रतिक्रिया