मंगलबार, चैत १०, २०८२

संवैधानिक निकायको स्वतन्त्र र स्वायत्तता तथा सङ्घीयता कार्यान्वयनमा नागरिक समाजको जोड

मेरोन्यूज २०७८ जेठ २७ गते १६:०१

काठमाडौं । पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक र संविधान निर्माणमा संलग्नहरुले लोकतन्त्र, सुशासन र सङ्घीयताबारे हाम्रो राजनीतिले अरुलाई धेरै सिकाए तापनि आफू सच्चिन नचाहेको प्रतिक्रिया दिए । नेपाल कानून समाज, संविधान निगरानी समूह र नीति फाउण्डेशनद्वारा आयोजित सङ्घीयताको लक्ष्य र संवैधानिक निकायको कामकारवाहीको प्रभावकारिता विषयको अन्तक्र्रियामा उनीहरुले बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकतान्त्रिक मुलुकमा शक्ति पृथकीकरणका सन्दर्भमा खडा भएका संवैधानिक निकायलाई स्वतन्त्र र स्वायत्तता प्रदान गर्ने तथा सङ्घीयता कार्यान्वयनमा कर्तामै संवेदनशीलता छ र भन्ने प्रश्न उठिरहेको टिप्पणी गरे ।

उनले भने, “सङ्घीयता क्षमता, स्वामित्व, अभिमुखीकरण, स्वायत्ततासँग जोडिएको प्रश्न भएकाले हामी यसबारे अभिमुखीकरण त छौँ ? नयाँ संविधानअनुसार खडा भएका आयोगलाई प्रभावकारी तुल्याएर जनतालाई कसरी धेरै लाभ दिने भन्ने राजनीतिक इच्छाशक्तिको कुरा हो, त्यसमा सरकार र राजनीतिक दलको जवाफदेहिता खै ? सङ्घीय संसद् केन्द्रीयताको दृष्टिकोणमै अल्मलिएको छ ।”

नेपाली कांग्रेसका नेता रमेश लेखकले संवैधानिक निकायमा सिफारिश, सुनुवाइ र नियुक्तिको दर्शनअनुसार अघि बढ्न सकिएको छ कि छैन भन्ने मुख्य प्रश्न बनिरहेको बताए ।। सोही दलकी नेत्री पुष्पा भुसालले सङ्घीयता र समावेशी लोकतन्त्रलाई दोष दिनुभन्दा सरकारले गलत कामकारवाही सच्याउनु पर्ने उनले बताईन् । नेकपा (एमाले) का नेता सुरेन्द्रप्रसाद पाण्डेले सबै पक्षलाई नेतृत्व गर्ने राजनीति ठीक नभई अन्य क्षेत्रमा सुधारको गुञ्जायस छैन भन्ने कुरा पुरानो प्रवृत्ति दोहोरिएको घटनाले स्पष्ट पारे ।


संसदीय सुनुवाइमा दलको ह्विप नलाग्ने व्यवस्था तथा संवैधानिक निकायमा पूर्वकर्मचारी नियुक्ति गर्ने प्रणालीबाट अब पृथक हुनुपर्छ”, पूर्वअर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलबीच सङ्घीयता कार्यान्वयनको मार्गचित्रमै विश्वासको सङ्कट देखिएको तथा संवैधानिक निकायको काम कारवाही, पारदर्शिता, दक्षता र व्यावसायिकताको प्रश्न उठ्नु चिन्ताको विषय बनेको प्रतिक्रिया दिए ।

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले सङ्घीयताको वकालत गर्ने पक्षले नै कानून बनाउने क्रममा अनुभूति दिलाउन नसकेको देखिए तापनि मुलुक नयाँ प्रणालीमा गएकाले एउटा चक्र पूरा नगरी तत्काल नतिजा खोज्ने प्रवृत्तिले समाजमा अनेकौंँ अविश्वास जन्माएको धारणा व्यक्त गरे । पूर्वमन्त्री जीतेन्द्रनारायण देवले मुख्य राजनीतिक नेतृत्व र सरकारबाटै सङ्घीयता कार्यान्वयन र आयोगलाई निकाय निष्पक्ष, स्वतन्त्र र समावेशी बनाउँदै स्वायत्तता प्रदान गर्ने विषयमा चुनौती रहेको आरोप लगाए ।


नेकपा (माओवादी केन्द्र)की नेत्री जयपुरी घर्तीले सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्ने क्रममा कानून निर्माणमा ढिलाइ मात्र होइन, अघि सारिएका नीति, विधि र सिद्धान्त र सोचमै समस्या देखिएको बताईन् । एमालेका नेता खेमप्रसाद लोहनीले सङ्घीयताको फाइदा जनतालाई दिन र संवैधानिक निकायमा हुने नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाएर लैजानुपर्छ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केन्द्रीय मानसिकताको सोचले सङ्घीयता कार्यान्वयनमा चुनौती खडा गरेका बेला अहिले नै राजनीतिक प्रादेशिक संरचनाको मूल्याङ्कन गर्ने बेला भइनसकेको विचार प्रकट गरे ।


नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्यले राजीनामा र मृत्यु भएका अवस्थामा बाहेक रिक्त हुनुहुन्न भन्ने मान्यताका साथ योग्यता पुगेका र राज्यले पत्याएकालाई संवैधानिक निकायमा नियुक्ति गरिनुपर्नेमा लामो समयसम्म नहुँदा कार्यान्वयन गर्ने निकाय र व्यक्तिबाटै संविधान अध्ययन भएन कि भन्ने प्रश्न उब्जिएको विचार प्रकट गरे ।

कानून समाजका सदस्य खिमलाल देवकोटाले विश्वका विभिन्न मुलुकका सङ्घीयताको ढाँचा, कार्यान्वयनमा आएका चुनौती, बाधा, अड्चन फुकाउन गरिएका प्रयास र संवैधानिक आयोगसम्बन्धी नालीबेली प्रस्तुत गरे ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले भने “संवैधानिक नभई कानूनका आधारमा गठन भएको प्रदेश लोकसेवाले पदाधिकारी नियुक्तिमा सबै पक्ष र पाटोमा ध्यान दिएर मापदण्ड नबनाएका कारण मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यका श्रीमती, भाइ, बुहारीले नियुक्ति पाएपछि अब स्वतन्त्र निकायको छवि कसरी बचाउन सकिएला ?”

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने “संवैधानिक निकायलाई कमजोर बनाएर फाइदा लिने सोच सरकार र केही निजामती कर्मचारीमा देखिन्छ । लोकसेवा आयोगले निकालेको नतिजा पुनरवलोकन गर्न सुझाव दिने सोचले कसरी संवैधानिक अङ्ग स्वतन्त्र हुनसक्छ ?”

पूर्वगृहसचिव गोविन्द कुसुमले सर्वोच्च अदालतमा नियुक्तिका विषयमा हामीले गर्दै आएको संसदीय सुनुवाइले केही समस्या उब्जाएकाले पुनःविचारका लागि बहस चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दललाई लोकतन्त्र र संवैधानिक निकायप्रति जनताको आस्था जगाउने काम गर्न सुझाव दिए ।
प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले संविधानमा लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र समावेशी चरित्र बोकेका आयोगमा मोलाहिजाका आधारमा सेवानिवृत्त कर्मचारीलाई नियुक्ति गर्ने प्रवृत्ति रोक्न जरुरी रहेको बताए । रासस

प्रतिक्रिया