गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुँदै, दीपक मनाङे तेस्रोपटक मन्त्री बन्दै

काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आज शनिबार नयाँ सरकार गठन गर्ने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले शुक्रबार नै हस्ताक्षरसहित पत्र पेश हो ।
प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन गर्न २४ घण्टाभित्रको समयसीमा दिएसँगै नयाँ सरकार गठन गर्न गठबन्धन पक्षले दाबी पेस गरेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरूले हस्ताक्षर गरेका छन् ।
निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दीपक मनाङे उर्फ राजीव गुरुङले गठबन्धन पक्षलाई साथ दिएसँगै नयाँ सरकार बन्ने बाटो खुलेको हो । गठबन्धन पक्षलाई साथ दिएका उनी तेस्रोपटक मन्त्री बन्न सक्ने छन् ।
मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले संसदको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङलाई नै दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
कुनै पनि दलको बहुमत नभएमा तथा दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार बन्न नसकेमा उपधारा ४ बमोजिम ठूलो दलको सरकार बन्ने व्यवस्था भएकाले सोही प्रक्रिया अनुसार प्रदेश प्रमुखले गुरुङलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले गत बिहीबार विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उनले आज शनिबारसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी गठबन्धनले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए ।
प्रदेश प्रमुखले आह्वानसँगै विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेसहितको हस्ताक्षर सहित ३१ बहुमत सदस्यले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि सहमत भएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । विश्वासको मत लिन ३१ जना सांसदहरूको आवश्यक पर्दछ । गठबन्धन पक्षलाई दीपक मनाङेले साथ नदिएको भए बहुमत पुग्ने अवस्था नहुँदै गर्दा उनको साथले नयाँ सरकार बन्ने भएको छ ।
प्रतिक्रिया