प्रधानमन्त्रीलाई मार्ने अभिव्यक्ति दिने सांसद वैद्यमाथि कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न माग गरिएको छ । उनलाई कारबाही गर्न माग गर्दै नेकपा एमालेका विभिन्न १५ जनवर्गीय संगठनहरूले गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र लिएर मन्त्रालय पुगेका पार्टीका विभिन्न संगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीमाथि धावा बोलेकाले फौजदारी कसुरमा मुद्दा चलाउन आग्रह गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गरे ।
कांग्रेसका तर्फबाट बागमती प्रदेश काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद वैद्यले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नु पर्ने बेला आएको बताएका थिए ।
उनले प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले आत्मालोचना गर्दै आज बैठकमा माफी मागिसकेका छन् ।
प्रतिक्रिया