बिहीबार, वैशाख १०, २०८३

महामारीमा स्वास्थ्य सेवा सुधारिएपछि पालिकाले पाउँदैछ जनताको स्याबासी

मेरोन्यूज २०७८ जेठ ३० गते ६:५३

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् ।

Advertisement
NiccNicc

कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।

केही दिनअघिसम्म चिकित्सक अभाव भोगिरहेको घोडाघोडी अहिले जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा दिन क्रियाशील छ । एमबिबीएस डा. टेकराज भट्टराई, दुई स्टाफ नर्स ज्योति चौधरी र शिला चौधरी एवं हेल्थ असिस्टेन्ट शिशिर न्यौपानेसहितको टोलीले यस महामारीमा देखाएको सक्रियताले कोरोनाका बिरामीका साथै आम नागरिकको मन जितेपछि नागरिकले स्वास्थ्यकर्मीसहित स्थानीय सरकारको प्रशंसा गर्न थालेका छन् ।

कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण गर्न तथा सामान्य स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या हुने अवस्थामा रहेको घोडाघोडीमा अहिले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमितले नियमित उपचार पाइरहेका छन् । अस्पतालमा अहिले कोरोनाका सामान्य तथा अक्सिजन दिनुपर्ने बिरामीको निरन्तर उपचार भइरहेको डा. भट्टराईले जानकारी दिए ।

कोरोना लाग्यो भने उपचारका लागि सोझै धनगढी जानुपर्ने नागरिकका लागि गाउँघरमै चिकित्सकसहितको कोरोना अस्पताल सञ्चालन हुँदा सहज भएको स्थानीय युवा कपिल सापकोटा बताउँछन् ।

महामारीको बेला पालिकाले स्वास्थ्य क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर काम गर्दा जनतामा स्थानीय सरकारप्रति विश्वास बढेको सापकोटाको भनाइ छ ।

अहिले पालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र बनाउनु, हरेक समय आम नागरिकले कोरोना परीक्षण गर्न पाउने व्यवस्था हुनु तथा उपचारको व्यवस्था गरिनुले पनि आम नागरिकको स्थानीय सरकारप्रतिको विश्वास अझै अग्लिएको सापकोटाको तर्क छ ।

प्रतिक्रिया