बुधबार, जेठ ७, २०८२

नरोत्तम वैद्यलाई पक्राउ गर्न मिल्छ ?

कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि !

मेरोन्यूज २०७८ जेठ ३१ गते १७:३२

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले २९ जेठ (शुक्रबार) प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिए । बैठकको रोष्टममा उभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारे झैं सांकेतिक रुपमा प्रधानमन्त्री ओलीलाई मार्नु पर्छ र मार्छु भन्दै वैद्यले दिएको विवादास्पद अभिव्यक्तिको भेउ प्रदेश सभाका सांसदहरुले नै पाउन सकेनन् ।

भेउ पाएका थिए भने सभामुखले त्यसलाई रेकर्डबाट हटाउन भनिहाल्थे । एमालेकै सांसदहरुले नियमापत्ति गर्दै अभिव्यक्तिको त्यही खरो आलोचनामा उत्रिन्थे । तर, वैद्यको अभिव्यक्तिमा कसैले उनले के भन्न खोजे भन्ने बुझ्नै सकेनन् ।

त्यसपछि भने वैद्यको अभिव्यक्ति भाइरल बन्यो । उनको चिप्लेको बोलीमा चर्काे आलोचना हुन थाल्यो । उनकै दल कांग्रेसले तत्काल उनलाई बोली फिर्ता लिएर क्षमायाचना गर्न निर्देशन नै दियो ।

उनले भोलिपल्टै संसद बैठक चल्ने बित्तिकै सभामुखसँग समय माग गरेर लिखित रुपममै आफ्नो बोली आवेशमा आएर फुत्किएको र अहिंसात्मक मान्छे आफू भएको भन्दै क्षमायाचना मात्र मागेननन्, आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन आफैले आग्रह गरे ।

यसबीच, वैद्यको अभिव्यक्तिको बाछिटा अझै सेलाएको छैन । यसको क्रिया-प्रतिक्रिया जारी छ । सामाजिक सञ्जालमा पनि वैद्यको आलोचना अझै पनि जारी छ ।

खासमा के भनेका थिए वैद्यले ?

शुक्रबारको प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथिको बहसमा भाग लिने क्रममा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेश सासद नरोत्तम वैद्य रोष्टममा पुगेर बोलेका थिए । त्यही क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ भनेका थिए :-

बडा दु : ख लाग्छ, सरकारको बाहिर बस्दा घोर राष्ट्रवादी, सरकारमा बस्दा लम्पसारवादी । त्यो चाहिँ अहिलेको परिप्रेक्षमा ओली जीले आफ्नो सत्ता बचाउन हाम्रो प्रधानमन्त्री ज्यूले जुन खालको हत्कण्डा अपनाइराखेको देखिन्छ । त्यस्तै अहिलेको नेपालको परिप्रेक्षमा कुरा गर्दा ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि !

वैद्यको यो भनाई मिडिया र सामाजिक सञ्जालमा तत्कालै ‘भाइरल’ बन्यो । कांग्रेस प्रवक्ताले ‘आत्मालोचना’ गर्न निर्देशन दिए । एमाले प्रवक्ताले ‘फौजदारी अभियोगको चेतावनी’ दिएर विज्ञप्ति निकाले । सर्वत्र भत्र्सना गर्न थालियो।

भोलिपल्ट प्रदेश सभाको मूल गेट अगाडि नै एमालेका कार्यकर्ताले वैद्यमाथि कारबाहीको माग गर्दै नाराबाजीसमेत गर्न भ्याए । त्यसपछि भने वैद्यले प्रदेश सभामा शुरुमै आवेशमा आएको आफूले के बोलेँ थाहा नपाएको भन्दै लिखित रुपमा आत्मआलोचना गरे । संसदको रेकर्डबाट आफ्नो उक्त अभिव्यक्ति डिलिट गर्न माग गरे ।

तर, यो प्रकरण सेलाएको छैन । एमालेका १० ओटा पेशागत तथा भातृ संस्थाले वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेर गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । उनीहरुले वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुनसमेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

वैद्यलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीसँग एमालेका जनवर्गीय संगठनका नेताहरु

वैद्यमाथि हत्या दुरुत्साहनसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा समेत मुद्दा दर्ता भएको छ ।

कांग्रेसले यसप्रति आपत्ति जनाएको छ । कांग्रेस बागमती प्रदेश सभाका दल नेता इन्द्र बानियाँले वक्तव्य नै जारी गरेर वैद्यले आत्मआलोचना गरिसकेको र संसदको रेकर्डबाट समेत हटाउन स्वयम्ले समेत भनिसकेको बेला राजनीतिक विषय बनाएर खेल्न खोजिएको आरोप लगाएको छ ।
हेर्नुहोस् वक्तव्य

के कारबाही हुन्छ, वैद्यमाथि ?
एमालेका भातृ संस्था अहिले गृहमन्त्रीसम्म पुगेर वैद्यलाई तत्काल पक्राउ गरी फौजदारी मुद्दाअनुसार कारबाही गर्न माग गरिरहेका छन् । यस्तो बेला के अब प्रदेश सांसद वैद्य कारवाहीमा पर्लान् ? तर कानुनले वैद्यमाथि कारबाही हुने संकेत गर्दैन ।

नेपालको संविधानको धारा १८७(१)मा यस विषयमा यस्तो भन्छ :

नेपालको संविधानकाे धारा १८७ (१) मा प्रदेशसभामा पूर्ण वाक् स्वतन्त्रता रहेकाे उल्लेख गरिएको छ । यस धारामा भनिएको छ, ‘यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्तन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।’

प्रतिक्रिया