शुक्रबार, माघ २, २०८२

बाढीले विद्युत गृह बगायो, बस्ती डुबानमा परेपछि स्थानीयबासी पहरामुनि

मेरोन्यूज २०७८ असार १ गते १२:१९

काठमाडौँ । केही दिनदेखि लगातार भएको वर्षासँगै आएको बाढीले मनाङमा विद्युतगृह र पुलहरू बगाएको छ । त्यस्तै, जिल्लाको नासों गाउँपालिका १ को तालगाउँ भन्ने स्थानको आधा बस्ती डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको वर्षाले चामे गाउँपालिका १ तिमाङ खोलाको बेलिब्रिज र सोही खोलामा निर्माण भएको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत गृह बगाएको छ । यसैगरी, सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएर क्षति पुर्‍याएको छ ।

स्थानीयबासीका अनुसार मस्र्याङ्दी नदीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा अहिले पहरामुनि बस्न बाध्य भएका छन् ।

यस्तै, गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ । ‘हामी म्यार्दीभिरको पहरामा आएर बसेका छौँ,’ एक स्थानीयबासीले भने । स्थानीयबासी वेदबहादुर गुरुङले आफूहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्नु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार घट्टे खोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा ४ वटा घर बगाएको छ ।

पानी परिरहेको र बाढी पहिरो आइरहेकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया