शुक्रबार, वैशाख ११, २०८३

सिंगिङ आइडल-२०२१ कार्यक्रमको नयाँ तालिका सार्वजनिक

मेरोन्यूज २०७८ असार ४ गते १४:२९

काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ कार्यक्रमको नयाँ तालिका सार्वजनिक भएको छ ।

Advertisement
NiccNicc

कोभिड १९ का कारण केही समयदेखि स्थगित रहेको गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गर्ने कार्यक्रम भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कार्यतालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको हो ।

गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर भएको बताए ।

एनआरएन आइडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ । जसअन्तरगत अन्तरा राउण्ड सन् २०२१ को जुन २५ मा हुने छ । ‘यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन् ।

यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरु बाहिरिनेछन् । पत्रकार सम्मेलनमा संयोजक रेग्मीले बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउने जानकारी दिए ।

सारेगम राउण्ड जुलाई २ मा हुने छ । यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन् । रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरु बाहिरिने छन् ।

बाँकी ३० जना प्रतियोगीहरुले पियानो राउण्डमा प्रवेश पाउने छन् । पियानो राउण्ड जुलाई ९ मा हुनेछ। यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन् । पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरुले प्रस्तुति दिनुपर्ने छैन । ‘प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन् ।

प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ तय गरिएको छ ।

प्रतिक्रिया