हिन्दू जीवन र सभ्यताको खोजी

काठमाडौँ । पुरातत्व शास्त्रको सम्बन्ध नृवंश शास्त्र, नृतत्व शास्त्र, भूगोल र भूगर्भशास्त्र जस्ता सामाजिक र प्राकृतिक विज्ञानसित अविच्छेद्य तवरमा जोडिएको छ । आज ज्ञानको यो क्षेत्रको विकासले निकै वैज्ञानिक आधार पाइसकेको छ ।
लेनिनग्राड पुरातत्त्व इन्स्टिच्यूटका डा. शेतेन्कोले काठमाडौंका आफ्ना प्रवचनहरूमा वर्तमान नेपाल अधिराज्यका केही ठाउँबाट प्रस्तर–युगीय मानिसहरूले प्रयोग गर्ने गरेका विभिन्न कालका ढुङ्गे औजारहरू फेला पारे । ती हतियारमध्ये केही दुई लाख वर्ष पुराना, केही ३०,००० वर्ष पुराना र केही ४,००० वर्ष पुराना छन् । तीभन्दा पछिका नवपाषाणयुगीय पालिसदार औजारहरू रामेछाप, चरिकोट महाभारत शृङ्खलामा जङ्गलभरि छरिएका जस्ता छन् । त्यस्ता औजारहरू जंगलबाट टिपेर ल्याई ‘वज्र’ भनेर गाउँलेहरूले औषधिको रूपमा विभिन्न रोगका निम्ति प्रयोग गर्दछन् ।
यी औजार बनाउनेहरू को थिए ? डा. शेतेन्कोका प्रकल्पना अनुसार एशियामा नेपाल त्यो ठाउँ हो जहाँ ३०,००० वर्ष पहिले मंगोल र युरोपीय जातिहरूको सम्पर्क, सहवास र अन्तर्भुक्ति भएको थियो । काठमाडौंको उत्तरतिर पण्डित गाउँमा प्राप्त ताछिएका ढुङ्गे औजारहरू त्यस्तै विविध स्रोतका रहेकाबाट तिनले त्यस्ता अनुमान गरे । प्रश्न उठ्छ, त्यो सहवास र अन्तर्भुक्तिको प्रारम्भ ३०,००० वर्ष पहिले भएको थियो भने अन्त्य कहिले भयो ? उत्तर प्रष्ट छ, त्यो सहवास अहिलेसम्म चलिरहेकै छ, सम्पूर्ण अन्तर्भुक्ति प्राप्त भइसकेको आधारमा ।
यसको प्रमाण नवलपुरको दण्डा नदीछेउ पाइएको वैदिक कालीन भग्नावशेषमा फेला पर्छ । त्यहाँ ४,००० वर्ष पहिलेका औजार (गैर–वैदिक) का साथै झण्डै ३,००० वर्ष पहिलेका वैदिककालीन माटाका भाँडाका टुक्राहरू फेला परेका छन् । नवलपरासीको आजको बसोबासलाई हेर्ने हो भने मंगोल र युरोपीय सम्मिश्रणबाट उत्पन्न थारू प्रजातिको बाहुल्य त्यहाँ पाइन्छ ।
के यो विशेषता नेपालको मात्र हो ? होइन (यहाँसम्म मैले युरोपीय जात भन्ने शब्द प्रयोग गरें, अब त्यही अर्थमा आर्य भन्ने शब्द प्रयोग गर्छ) । बाह्र हजार वर्ष पहिले विश्वमा त्यो ठूलो जाति विभाजन हुँदा फेला परेका अवशेषहरूलाई वैज्ञानिकहरूले मंगोल, युरोपीय र निग्रो भनी तीन भागमा बाँडेका छन् । आर्य भनेको मूल जाति होइन ।
युरोपीय जातिको त्यो अग्निपूजक शाखा हो, जुन केही हजार वर्ष ईशापूर्वदेखि आजको २,००० वर्ष अघिसम्म इरान र उत्तर भारतमा बाढीका लहर झैँ आउँदै, फैलिँदै गएकाहरूले आफूलाई यहाँका रैथानेभन्दा श्रेष्ठ ठहर्याउन आफूलाई आफै आर्य भन्ने गरेका मात्र हुन् । आज उत्तर दक्षिण र पश्चिम भारतको आर्यपूर्व प्राचीन सभ्यताको अध्ययन गर्ने हो भने आर्य आगमनभन्दा पहिले द्रविड सिन्धु सभ्यता निकै माथिल्लो स्तरमा पुगिसकेको थियो भन्ने देखापर्छ । त्यो व्यवस्थित सभ्यतासित उर्लिदो बर्बर आर्य लहरले ३०० वर्षसम्म लगातार ठक्कर लियो । देवासुर संग्राम भनेर ऋग्वेदमा भएका उल्लेखहरू त्यही सिन्धु उपत्यकामा भएका लडाइँहरू हुन् ।
त्यो लामो लडाइँमा उन्नत सिन्धु सभ्यता धराशायी भयो र आर्य श्रेष्ठताको हातमा सत्ता गयो । उन्नत सभ्यतालाई एउटा बर्बर र निम्न सभ्यताले मुढेबलद्वारा, तर फलामको हतियार प्रयोग गरेर, पराजित गर्न सकेका ती घटना निकै नै रोचक छन् । के ती देवासुर संग्रामहरूमा रैथाने द्रविडहरूको संस्कृतिको पूर्ण लोप भयो ? कि तिनले आफ्नो सम्पत्ति र स्वाधीनता मात्र गुमाए ? यथार्थमा यिनै पछिल्ला कुरा भए । युरोपीय बर्बरहरूले रोमलाई ध्वस्त पारेर त्यहाँ अँध्यारो युग शुरू गरेका घटनाको विपरीत अथवा कार्थेज र मेम्फिसको विघटनपछिको अवस्थाभन्दा पृथक भारतमा द्रविड पराजय नयाँ संस्कृतिको जन्मदाता बन्न पुग्यो ।
पुराण र महाभारत त्यो अन्तर्भुक्तिबाट जन्मिएको नयाँ संस्कृतिको प्रथम प्रमाणहरू हुन् । विष्णु, महादेव, लक्ष्मी, सरस्वती जस्ता देवी देवताहरू, मृदंग र वीणा जस्ता वाद्यहरू समाजमा प्रबल धारा बन्न पुगेको योग, सांख्य र तन्त्रविद्याहरू, मुद्रा र भावभंगीमा आधारित नृत्य र नाट्यहरू, वैष्णवी, दया, करुणा, अहिंसा, कृष्णको धर्म, ज्ञान, तपस्याहरूको स्रोतलाई खोज्ने हो भने ऋग्वेदका प्राचीन विचारमा होइन असुरहरूबारे भनिएका ठाउँहरूमा फेला पर्नेछन् । महन्जोदेडो र हडप्पाका उत्खननमा फेला परेका वस्तुहरू यी कुराका थप प्रमाण हुन् । पशुपालक गोठाले आर्यहरूका त्यति उदात्त विचार तथा उन्नत जीवनपद्धति हुन पनि सक्दैन थियो । रमन्ते समाजले व्यवस्थित समाजमा विकसित हुने सभ्यताको उपभोग गर्न सक्दैनथ्यो ।
विषय सारै नै गम्भीर भएको हुनाले छोटकरीमा मात्र चर्चा गर्न सकिन्छ । आर्य र रैथानेहरू बीच विचार र संस्कृतिगत संघर्षमा दीर्घकालसम्म चल्दै रहे भन्ने कुरा गौतम बुद्ध पश्चात् लेखिएका केही उपनिषद्हरूसम्म पाइन्छन् ।
आज आर्य सभ्यता भन्ने कुरा स्वभावतया बाँकी छैन । आज भारतमा पाइने सभ्यता हिन्दू सभ्यता हो, जसको प्रष्ट प्रारम्भ ऋग्वैदिक कालबाटै शुरू भएको हो । आर्य र हिन्दूबीच मैले आधारहीन तवरमा भेद देखाउन खोजेको होइन । आर्य जीवन र विचारधारा त्यो हो जो भारतका रैथाने असुरहरूसित सम्पर्कमा आउनेभन्दा पहिले रचित भाग्वैदिक बाचाहरूमा पाइन्छन् । त्यस मानेमा यजुर्वेद र सामवेदका सहिताहरूमा आर्य जीवनपद्धति परिलक्षित छन्, किनभने यी साहिताहरुको प्रोत मूलतः ऋग्वेद नै हो ।
अथर्ववेदको प्रारम्भका साथै हिन्दुत्वको प्रारभ्म हुन्छ । आर्यको अग्नि, ब्रह्मा र गणको चारैतिर नयाँ नयाँ भारतीय देवताहरूको, देवीहरूको ‘शक्ति’ र ‘नयाँ मातृका’हरुको उदय हुन थाल्दछ । पुराणका ३३ कोटी देवता वैदिक उत्पनिका नभई स्थाने असुरहरूसित अन्तर्भुक्तिको परिणाम स्वरूप प्रादुर्भाव भएका हुन् । असुर भन्नाले गैर आर्य सबै भारतीय जाति र प्रजातिलाई जनाउँछ, द्रविडहरुलाई मात्र होइन । त्यसरी असुरहरू काश्मीरका खस, दरद र पिशाचहरूदेखि लिएर आजको मेघालयका नागाहरूसम्म, हिमालयका यक्ष र गन्धर्वदेखि लिएर दक्षिणका राक्षस र दानव तथा कालेयर कालकेय जस्ता समुद्रगामी दैत्यहरू समेत पर्दछन् ।
यसमा यो बृहत्काल र बृहत् क्षेत्रमा फैलिएको सहिष्णुतापूर्ण अन्तर्भुक्ति प्रक्रियामा बर्बर आर्यहरूमा सहिष्णुता थियो वा सभ्य रैथानेहरूले त्यो अन्तर्भुक्तिलाई ग्रहण गरेका थिए भन्ने छुट्याउनु सारै गाह्रो छ । तथापि आर्यहरूले असुरहरूप्रति निर्मम हिंसा चलाएका भीषण रक्तपातका युद्ध खडा गरेका, असुर सभ्यताको अमानवीय विध्वंस गरेका, तिनका शहरहरूलाई नष्ट पारेका, नागरिकर नागरिकहरूलाई दास दासी बनाएका, तिनका बाँध, कुलो, खेत, धन, ऐश्वर्य, गाईवस्तु लुटेका घटनाहरूको प्रचुर वर्णन ऋग्वैदिक ऋचाहरूमा पाइन्छ । धर्मको नाउँमा होइन सामाजिक इतिहासको आधारमा रामकथाको अध्ययन गरेमा रामको अयोध्याभन्दा श्रेष्ठ, उदात्त विद्वान् तथा समुन्नत समाज रावणको देखिनेछ । यी सबैबाट बुद्धपछिको भारतीय समाज नाउँको निम्ति आर्य भए तापनि त्यसका सामाजिक जीवन र मूल्यहरू गैर आर्य स्रोतका समेत रहेका प्रष्ट देखा पर्छन् । श्रुतिमाथि स्मृतिको विजय तथा स्मृतिपछि स्थानीय आचरणको श्रेष्ठताको मान्यता, आर्य असहिष्णुताबाट पनि जन्मिएका होलान् भन्ने म इन्कार गर्दिनँ ।
पछि गएर त भारतीय समाजमाथि गैर आर्य प्रभाव झन् प्रकाण्ड भएर बढ्यो । समाजले व्यवस्थित रूप धारण गरेर वेद वेदांगले आफ्नो श्रेष्ठतालाई निर्द्वन्द्व प्रमाणित गर्न अघि सर्दा पहिले महावीरले त्यसै बेला अजित केशकम्बलीन, पूर्णकश्यप, चार्वाक पार्श्वनाथ, मक्खली गौशाल, निगण्ठ नातपुत्त, ककुर काल्यायन, जावाली इत्यादि जस्ता भौतिकवादीहरूले अनि सिद्धार्थ गौतमले वेदको शाश्वत अपौरुषेयता, शाश्वतता र श्रेष्ठतालाई पूर्णतः इन्कार गरिदिए । अनि शक्ति सम्प्रदायका तान्त्रिकहरूका विभिन्न धर्म र अभिव्यक्तिहरूमा कमै सम्बन्ध ऋग्वेदसित रहेको थियो । परन्तु यी सबै अवैदिक चिन्तन र प्रवाहहरू ती पछिका भारतीय समाजमा प्रबल शक्तिका साथ फेला पर्छन् ।
पुष्यमित्र शुङ्गले मगधमा बसेर २,२०० वर्ष अगाडि वैदिक ब्राह्मणवादको पुनरुत्थानको लागि प्रचुर चेष्टा गर्दा पनि उनको जीवनपछि ब्राह्मणवादको फेरि अस्त भयो र त्यसले ५०० वर्षसम्म अन्यौलमा बसी गुप्त साम्राज्यमा आफ्नो तेस्रो जागरणलाई पखर्नु पर्यो । यो गुप्तकाल पनि निर्णायक हुन सकेन ।
आधुनिक भारतीय संस्कृति र समाज त आठौँ शताब्दीको अन्त्यतिर शङ्कराचार्य, रामानुजाचार्यले अनि केही सय वर्षपछि माधवाचार्य, बल्लभाचार्य, निम्बार्काचार्य जस्ता विचारकहरूले ब्रह्मसूत्र, गीता तथा उपनिषद्का भाष्यहरू लेखी नयाँ भारतीय चिन्तनलाई वेदान्तमा आधारित नयाँ दिशा दिन थालेपछि शुरू भयो ।
ती संस्कृत भाषान्तर्गतका प्रयासहरूलाई शुरू मुस्लिम समयमा हिन्दी, व्रज र मैथिलका उत्पत्तिले भक्ति र वैष्णव धर्मका तिनका कविहरूले आजको हिन्दू जीवनपद्धति र दर्शनलाई रूप दिन सकेका हुन् । यिनै अन्तिम प्रयासमा पनि गैर वैदिक, गैर ब्राह्मण, गैर हिन्दू प्रभाव प्रचुर मात्रामा परिलक्षित छन् ।
भारतीय इतिहास भारतमा विदेशी आक्रमणको इतिहास हो । स्वयं सिन्धु सभ्यता नै निकै हदसम्म गैर द्रविड र विदेशी थियो भन्ने अचेलका प्रस्तावना छन् । अनि आर्यका लहरहरू विदेशबाट आए । खसहरू बाख्मीबाट अर्थात् विदेशबाटै भित्र पसे । त्यसपछि १,००० वर्ष नयाँ प्रवेशका प्रमाण फेला परेका छैनन् । सिकन्दरबाट शुरू भएको वैदेशिक आक्रमण आफ्ना उतार चढाउका १९६२ सम्म चलिरहन्छ । फरक कति भयो भने ९ औँ शताब्दीमा समुद्र मार्गबाट भारतबाट आउने मुहम्मद बिन कासिमभन्दा पहिलेका सम्पूर्ण विदेशी आगन्तुकहरू भारतीय समाजमा विलीन हुँदै गएका थिए । स्वभावतया आर्य ब्राह्मणहरूका यज्ञविधि तिनको निम्ति अपर्याप्त थियो । अतः त्योभन्दा फराकिलो हिन्दू सभ्यताले जन्म लिनुपर्यो ।
यी सम्पूर्ण कुराहरू अनुमान, तर्क र प्रकल्पनाहरू हुन्, यिनका पछाडि तथ्य छैनन् भन्ने हुन सक्दैन, तर उपलब्ध तथ्यहरू साह्रै अपर्याप्त छन् । यहींनिर पुरातात्त्विक वैज्ञानिक उत्खननको आवश्यकता देखापर्दछ । त्यो उत्खनन भारतमा यता ३० वर्षदेखि बृहत् परिमाणमा चलिरहेका छन् र नेपालमा नगण्य मात्रामा । यो सन्तुलनले इतिहासमा ल्याउने असन्तुलनलाई पछि सच्याउनु सारै गाह्रो हुनेछ । हिन्दू सभ्यता र जीवन पद्धतिको विकासमा नेपाल अधिराज्यको महत्त्वपूर्ण भूमिका र योगदान रहेकै हुनुपर्छ ।
तर, त्यसो भन्नु अप्रमाणित प्रकल्पना मात्र हो । हामीलाई आज प्रमाण चाहिएको छ । लेनिनग्राडका डा. शेतेन्कोले सानो अवधिको आफ्नो महत्त्वपूर्ण कामद्वारा नेपाली इतिहासकार र पुरातत्त्वविद्हरू समक्ष निकै ठूलो हाँक प्रस्तुत गरे । मुलुकको आर्थिक स्वार्थमा समेत यो अनुसन्धानलाई हामीले अगाडि बढाउनु परेको छ ।
(त्यो युग पुस्तकबाट)

















भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया