झापामा बढ्यो कांग्रेसको चुनावी सरगर्मी

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उनले कांग्रेस झापाको कोषाध्यक्ष हुँदै उपसभापति पदमा बसेर काम गरिसकेका छन् । पार्टीमा लामो अनुभव प्राप्त गरिसकेका उनी पुराना कांग्रेसी नेताका रुपमा परिचित छन् । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले झापामा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहेका छन् । उनीहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत रहेको छ ।
कोरोना महामारीका कारण पार्टीको जिल्ला समितिले नेताद्वय सिटौला र शर्मालाई सहभागी गराएर भर्चुअल बैठक पटकपटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठेराका बीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ । करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्घव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताउँदै आएका छन् । उनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्ने झापामा कांग्रेसको नयाँ नेतृत्व आउने बताए ।
उनले भने–“अब नयाँ साथीहरु नेतृत्वमा आउनुहुन्छ । पार्टीका उपसभापति राम कट्टेलबाहेक अरुले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छैन । तर, पार्टीका पूर्वउपसभापति देउमान थेबे, पूर्वसचिव भगिरथ पोद्धार, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे र प्रचार विभाग प्रमुख लोकराज ढकाल पनि सभापतिको आकांक्षी हुनुहुन्छ ।”
पूर्व उपसभापति थेबेले क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए । कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार झापामा पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ । कोभिड—१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल चलिरहेको सभापति थापाले जानकारी दिए ।
उनले प्रत्यक्ष रुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको जानकारी दिए । “परम्परागत ढङ्गले अधिवेशन हुने सम्भावना छैन, विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं”, उनले भने । रासस /चन्द्रकला भण्डारी
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया