शनिबार, फागुन १६, २०८२

सत्ती भन्सारः ११ महिनामा वार्षिक लक्ष्य पार

मेरोन्यूज २०७८ असार १७ गते ८:५०

टीकापुर । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको एक महिना बाँकी हुँदै वार्षिक लक्ष्य पार गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा १४ करोड ५० लाख राजश्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा छ करोड सात लाख र पछि बढाएर १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए ।

“सीमापारि आउजाउ गर्नेको सङ्ख्यामा कमी आयो । यहाँ आउने सामानहरु पनि बढे । सबै सामान भन्सारमार्फत आउँदा राजश्व सङ्कलनमा वृद्धि भएको हो”, शाह भन्छन्, “असार महिनाको राजश्व जोड्दा अझ बढी हुनेछ ।”

दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिसहरु खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।

खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेको छ । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताउँछन् ।

“खाद्य क्वारेन्टाइन र पशु क्वारेन्टाइन भइदिएको भए खाद्यान्न तथा कृषिजन्य उत्पादन यहाँबाट भित्रिने थिए”, शाहले भने, “यी सबै कार्यालय भए यहाँ राजश्व सङ्कलन अझ बढ्ने थियो ।”

कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको ९९ प्रतिशत राजश्व उठाइसकेको छ । भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको थियो ।

जेठ मसान्तसम्म ८ अर्ब १४ करोड ८१ लाख अर्थात लक्ष्यको ९९ प्रतिशत राजश्व असुली भइसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसी बताउँछन् ।

“यस वर्ष हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुगेका छौं, लक्ष्य पूरा हुन्छ”, उनले भने, “कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता वस्तुको आयात धेरै भएको छ ।”

सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया