केपी शर्मा ओलीको सम्बोधन
माधव नेपालदेखि सर्वोच्चसम्म खरो टिप्पणी, संसद र सरकारमाथि शंका

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार अहिलेसम्मकै सफल सरकार भएको बताएका छन् । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ढलाउन पार्टीभित्रै र बाहिरबाट ठूलो खेल गरेको आरोप लगाए । नेकपा एमालेका वरिष्ठ नेता मावध नेपाललाई लक्षित गर्दै उनले आफ्नै पार्टीको सरकार ढलाउन भूमिका खेलेको आरोप लगाए ।
‘म जनताको आदेशबाट सरकारबाट बाहिरिएको होइन, सर्वोच्चको परमादेशबाट बाहिरिन पुगेको हो, अहिले पनि सबै जनताको मत र आदेश मप्रति नै छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सर्वोच्च अदालतको परमादेश विपक्षी दलका शेरबहादुर देउवाको पक्षमा पुगेको मात्रै हो ।’ प्रधानमन्त्री ओलीले आफू सरकारमा हुँदा विकासको कामले तीव्रता पाएकाले पुनः सरकारको नेतृत्वमा आउने दाबीसमेत गरे ।
माधव नेपालप्रति ओलीको टिप्पणी
प्रधानमन्त्री ओलीले आफू सरकारबाट बाहिरिनुमा माधव नेपालको ठूलो हात भएको बताए । ‘आफ्नो खेलाडीको खुट्टामा बल दिनु पर्नेमा विपक्ष खेलाडीको खुट्टामा बल दिन्छ, आफूले गोल रोक्नु पर्नेमा आफै गोल गरिदिन्छ,’ नेपालप्रति लक्षित गर्दै उनले भने ।
यस्तै, उनले सरकार ढाल्न आफ्नै पार्टीभित्र र बाहिरबाट धेरै कोशिस हुँदै आएको बताए । सरकारप्रति कठोर निर्णय लिँदै अपवित्र गठबन्ध गरेको आरोप लगाए । उनले भने, ‘सरकार ढाल्न अनेक कोशिस भए, षड्यान्त्र भए, अपवित्र गठबन्धन भयो, पार्टी फुटाइयो, अन्तमा सरकार ढालियो ।’
अदालतलाई के भने
सरकारबाट बाहिरिदै गर्दा ओली सर्वोच्च अदालतप्रति खरो रुपमा उत्रिए । उनले सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्ट जनाउँदै विश्व इतिहासमा पहिलोपटक असंवैधानिक निर्णय गरेको आरोप लगाए ।
ओलीले सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग गरेको दाबी गरे । ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला, कसैभित्र विजेताको भाव ल्याउला’ ओलीले भने, ‘तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन पुगेको छ ।’
‘निश्चित व्यक्तिको निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्याले वस्तुतः संविधान संशोधनको काम गरेको छ,’ उनले थपे ।
विं.सं. २०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम आएको थियो । ‘संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गर्दछु,’ उनले भने, ‘पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्नो व्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको छ ।’
अदालतप्रति खरो बनेका ओलीले आफूलाई जनताको अभिमत रहेको तर परमादेशले हटाएको बताए । आफू सर्वोच्चको परमादेशले पदमुक्त भएको ओलीले टिप्पणी गरे । ‘जनताको जनादेश मेरो पक्षमा छ, परमादेश शेरबहादुर जीको पक्षमा गयो, सर्वोच्चको परमादेशको कारण म बाहिरिन पुगेँ’ उनले भने ।
‘सम्मानित अदालतबाट प्रधानमन्त्री हटाइयो, प्रधानमन्त्री बनाइयो,’ ओलीले भने, ‘यसका लागि अवैध गठबन्धन बनाउन पुग्यो ।’
आगामी संसद र सरकारमाथि शंका
ओलीले दोस्रोपटक पुनःस्थापना भएको प्रतिनिधि सभामाथि शंका गरेका छन् । उनले राष्ट्रिय सार्वभौम सत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानु पर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको आरोप लगाए । उनले भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’
ओलीले अहिले विकाशित भएको घटना क्रममा सही नभएकाले संसद र सरकार सही ढंगले सञ्चालन नहुने शंका गरेका हुन् । ‘जे जस्ता घटनाक्रम विकास भएको छ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ’ उनले थपे, ‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरू परिचित छन्, उनीहरूको इतिहास, भूमिका देश र जनतालाई थाहा छ, मैले केही भनिरहन पर्दैन ।’
यस्तै, ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न आफ्नो सरकारले ठूलो काम गरेको बताए । उनले सबै जनताका लागि आवश्यक पर्ने खोपहरू विभिन्न देशबाट आउन क्रममा रहेको बताए ।
उनले आफूले कोरोनाविरुद्धको खोप ल्याइदिएको बताउँदै अब बन्ने सरकारले फोटो खिच्न होडबाजी गर्ने बताए । उनले भने, ‘मैले खोप ल्याइदिएको छु, भोलिदेखि नयाँ सरकारले खोप लगाएको फोटो खिचेर मैले ल्याएको भनेर प्रचार गर्छन ।’
कार्यकर्तालाई दिए सान्त्वना
ओलीले पदबाट राजीनामा दिने तयारी गर्दै गर्दा आफ्ना कार्यकर्तालाई उच्च मनोबल लिन आह्वान गरे । देशबासीको नाममा सम्बोधन गर्दै उनले आफूहरू सदाका लागि सरकारबाट बाहिर नहटेको भन्दै उच्च मनोबल लिन आग्रह गरेका हुन् ।
‘प्रतिपक्षमा बस्ने म्याद बेस्सरी भए ढेड वर्ष त होला, जनतामा जानु पर्ने अवस्था आउँछ, हामी फेरि सरकारमा आउछौँ,’ उनले भने, ‘एकाध फैसलाबाट हामी बिचलित हुनु हुँदैन ।’
आफ्नै मूल्यांकन
सरकारबाट बाहिरिदै गर्दा ओलीले अनवरत रुपमा लोतकन्त्रका लागि लडेको बताए । करिब ६० वर्षभन्दा लामो समय लोकतन्त्रका लागि योगदान गरेको स्मरण गरे । ‘लोकतन्त्रका लागि जेलको चिसो छिँडीमा लामो समय बिताएँ, करिबकरिब आधा सताब्दी लोकतन्त्रका लागि लगाए, म फेरि पनि भन्छु, मेरो मन मस्तिष्कमा देश र जनताबाहेक, देशको सुरक्षाबाहेक, देशको स्वाभिमानबाहेक, देशको भौगोलिक अखण्डताबाहेक अनि देशको विकास र देशमा शुसाषनबाहेक कही छैन,’ उनले भने, ‘लोकतन्त्र जिविकाको विषय होइन, जीवनको विषय हो ।’
यस्तै, ओलीले सर्वोच्चको फैसलासँगै आफ्नो बारेमा धेरै कुरा उठाएको आरोप लगाए पनि सरकारले देश र सार्वभौम सत्ताका लािग दृढतापूर्वक काम गरेको बताएका थिए । उनले आफ्नो सरकारले धेरै ठूला आयोजनादेखि साना काम गरेको स्मरण गरे ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया